PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोनाको आहतमा बाइडेनको राहत : घोषणा गरे १.९ ट्रिलियन डलरको प्याकेज



कोरोनाको आहतमा बाइडेनको राहत : घोषणा गरे १.९ ट्रिलियन डलरको प्याकेज
फोटो : Reuters

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले १.९ ट्रिलियन(१९ खर्ब) डलरको राहत प्याकेज घोषणा गरेका छन्। स्थानीय समयअनुसार बिहीवार राति उनले जनताको नाममा सम्बोधन गर्दै यो राहत प्याकेज घोषणा गरेका हुन्। प्याकेजमा राहत चेक, बेरोजगार भत्ता, साना व्यापारीलाई सहयोग र कोरोनाविरुद्धको खोपलाई थप सहयोग समेटिएको छ।

अमेरिकामा कोभिड-१९ का कारण पछिल्लो दिनहरुमा दैनिक तीन हजार बढीको ज्यान जान थालेको छ। कोभिडले नराम्ररी प्रभावित हुन थालेपछि बाइडेनले यसविरुद्ध लड्न राहत प्याकेज घोषणा गरेका हुन्।

सीधै नगद भुक्तानी, बेरोजगारी भत्ता प्रदान, भाडा राहत, खाद्य सहयता, साना व्यवसायीका लागि राहतलगायतका विषय प्याकेजमा समेटिएको बाइडेनले बताएका छन्।

उक्त प्याकेजमा १४ सय डलरको राहत चेकसमेत समेटिएको छ। संसदबाट पारित भइसकेको ६ सय डलर जोडेर कुल दुई हजार डलर उक्त चेकमा समेटिने प्रस्ताव बाइडेनले गरेका छन्। बढाइएको चेक प्रतिनिधिसभाबाट पारित भए पनि सिनेटमा रिपब्लिकनहरुले रोकेका थिए। अहिले भने सिनेटमा डेमोक्रेट्सको बहुमत हुने भएकोले उनको प्याकेज प्रस्ताव स्विकृत हुने बताइएको छ।

बेरोजगारी कार्यक्रमहरु मार्च १४ सम्म रहेकोमा यसलाई बढाएर सेप्टेम्बरसम्म लैजाने बाइडेनले तयारी गरेका छन्। यी कार्यक्रमहरु लागु हुन संसदबाट पारित हुनुपर्नेछ। जनवरी २० मा बाइडेन ह्वाइट हाउस प्रवेश गर्दैछन्। त्यसपछि मात्र यो राहत प्याकेजको प्रक्रिया अगाडि बढ्नेछ। यद्यपि सिनेटमा रिपब्लिकनको साथ बिना यो प्याकेज सजिलै पारित हुन नसक्ने देखिन्छ। यसका लागि बाइडेनले लचकता अपनाउनुपर्ने हुन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell