PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोनाका कारण विमानमा यात्रा गर्न यात्रु डराए, ३ महिनासम्म विमानस्थलमा नै बसेको खुलासा



कोरोनाका कारण विमानमा यात्रा गर्न यात्रु डराए, ३ महिनासम्म विमानस्थलमा नै बसेको खुलासा
File Photo : Scott Olson/Getty Images

कोरोना संक्रमणका कारण हवाई यात्रा गर्न डर लागेपछि एक व्यक्ति अमेरिकाको सिकागोको ओ’हेर अन्तर्राष्ट्रिय विमानस्थलमा ३ महिनासम्म पहिचान लुकाएर बसेको खुलेको छ।

गत शनिवार ३६ वर्षीय आदित्य सिंहलाई युनाइटेड एयरलाइन्सका कर्माचारीले परिचयपत्र देखाउन भनेपछि यो घटना बाहिरिएको हो। सिंहलाई एयरलाइन्सका कर्मचारीले परिचय खुलाउन भन्दा उनले मास्क तल तानेर ‘एयरपोर्ट आइडी ब्याज’ देखाएका थिए। तर त्यो ब्याज उनको थिएन। त्यो ब्याज एयरपोर्टका अपरेसन म्यानेजरको थियो। म्यानेजरको ब्याज अक्टोबर २६ मा हराएको थियो। शनिवार नै प्रहरीले सिंहलाई नियन्त्रणमा लिएको थियो।

सिंहले बयानमा सो ब्याज आफूले एयरपोर्टमै भेटाएको र कोरोनाका कारण घर जान डराए बताएका छन्। सिंहलाई विमानस्थलमा आउने अन्य यात्रुहरुले खाने दिने गरेको समेत बताइएको छ।

प्रहरीकाअनुसार सिंह गत अक्टोबर १९ मा लस एन्जलसदेखि ओ’हेर अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए। त्यसयता उनी विमानस्थलकै ‘सेक्युरिटी जोन’ मा बस्दै आएका थिए।

प्रहरीबाट प्रस्तुत भएका वकिलले ३ महिनासम्म कुनै स्वीकृति बिना नै एक व्यक्ति विमानस्थलमा बसेको भन्दा अदालतका न्यायाधीश अच्चमित भएको सिकागो ट्रिबुनले उल्लेख गरेको छ।  

सिंह लस एन्जलसमा आफ्ना साथीहरुसँग बस्दै आएका थिए। उनको कुनै अपराधिक रेकर्ड नभएको प्रहरीले जनाएको छ। हस्पिटालिटीमा स्नातकोत्तर गरेका सिंह बेरोजगार रहेको समेत अदालतमा बताइएको थियो।

प्रहरीले सिंहमाथि एयरपोर्टको सुरक्षा क्षेत्रमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप लगाउँदै अदालतमा प्रस्तुत गरेको थियो। अदालतले सिंहलाई जमानतमा रिहा गर्न १ हजार अमेरिकी डलर जरिवाना तिर्न र फेरि एयरपोर्टमा प्रवेश गर्न रोक लगाएको छ। उनीविरुद्धको अर्को सुनुवाई जनवरी २७ मा हुनेछ।

न्यायाधीश सुसाना ओर्टिजले यो घटना निकै अच्चमित पार्ने खालको भएको भन्दै विमानस्थलमा यात्रुहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने उल्लेख गरेकी छिन्। सिंहको क्रियाकलापले उनी समाजका लागि खतरा बन्न सक्ने उनले बताएकी छिन्।

सिकागो डिपार्टमेन्ट अफ एभिएसनले भने यो घटनाको अनुसन्धान भइरहेको जनाएको छ। साथै सिंहले एयरपोर्टमा रहँदा एयरपोर्ट वा यात्रुहलाई कुनै प्रकारको हानी नपुर्‍याएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell