PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संवैधानिक इजलासमा बहस : 'प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले राष्ट्रिय हित विपरित काम गरे'



संवैधानिक इजलासमा बहस : 'प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले राष्ट्रिय हित विपरित काम गरे'

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा अहिले संवैधानिक इजलासमा बहस भइरेको छ।

निवेदक तर्फबाट अधिवक्ता डा शिवकुमार यादवले इजलासमा बहसको सुरूवात गरे। करिब आधा घण्टा बोलेका यादवले कोभिड १९ महामारीका बेला मुलुक आर्थिक मन्दीमा रहेका तर्क गरे। उनले यस्तो अवस्थामा निर्वाचन सिफारिस गर्नु असंवैधानिक भएको टिप्पणी गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित विपरित असंवैधानिक कदम चालेकाले भन्दै उनीविरुद्ध संविधानको धारा ५ (२) आकर्षित हुनुपर्ने माग गरे।

धारा ५ मा राष्ट्रिय हितका विषयमा उल्लेख छ। ५ (२)  भने राष्ट्रिय हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुने उल्लेख गरिएको छ। यादवले इजलासलाई प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित काम गरेको भन्दै धारा ५ (२) आकर्षित हुने कि नहुने भनी प्रश्न गरेका हुन्।

उनले निर्वाचनमा खर्च हुने बजेटले दुई ठूला अस्पताल बन्ने भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हित विपरित असंवैधानिक कदम चालेको र राष्ट्रपतिलाई पनि विवादमा तानेर मुलुकलाई अनिर्णयको बन्दी बनाएकाले यो धारा आकर्षित हुनुपर्ने जिकिर गरेका थिए।

उनले भारतमा १९७० को दशकदेखि १९९० सम्म भएका राजनीतिक उतार चढाव, विघटनका घटना नजिरका रूपमा प्रस्तुत गरेका थिए।

उनले आफूले वामदेवको मुद्दा समेत हेरेको भन्दै बहस गर्दै गर्दा न्यायाधीश अनिल कुमार सिन्हाले अहिलेको विवादमा केन्द्रीत हुनु निर्देशन दिएका थिए।

यादवले 'अहिले प्रधानमन्त्रीले अदालतलाई थर्काउने काम गरेको सुनिएको छ' भन्दा न्यायाधीश सिन्हाले 'बाहिर के भयो त्यसमा नजानुस्, इजलासमा रहनुस्' भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell