PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कपिलवस्तु, रुपन्देही र पाल्पामा पहिलो पटक बाघ भेटियो! चुरे क्षेत्रमा प्रशस्त वन्यजन्तु, संरक्षणमा उत्तिकै चुनौती



कपिलवस्तु, रुपन्देही र पाल्पामा पहिलो पटक बाघ भेटियो! चुरे क्षेत्रमा प्रशस्त वन्यजन्तु, संरक्षणमा उत्तिकै चुनौती
फोटो : नेपालको चुरे क्षेत्रको वन्यजन्तु विविधता’ प्रतिवेदनबाट साभार

  • राजु आचार्य-

पोखरा : कपिलवस्तु, रुपन्देही र पाल्पामा पहिलो पटक बाघ भेटिएको छ। सो क्षेत्रमा सन् २००९, २०१४ र २०१८ मा बाघ र यिनको आहारा प्रजातिको गणना गर्दा बाघ भेटिएको थिएन। पाल्पामा भेटिएको बाघ रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा भेटिएको हो।

डडेलधुरा र इलाममा केही समयअघि बाघ भेटिएर खुसी भएका अनुसन्धानकर्मी र संरक्षणकर्मी थप खुसी भएका छन्। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष द्वारा संयुक्त रूपमा गरिएको अध्ययन र  प्रकाशित प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ। डा. नरेश सुबेदीसहित २० जना अनुसन्धानकर्मीहरूद्वारा भर्खर प्रकाशित उक्त अनुसन्धान सन् २०१६ देखि २०१८ सम्म गरिएको थियो। सो प्रतिवेदन रिसर्च गेटमा सार्वजनिक गरिएको छl 

नेपालमा चुरे क्षेत्रले करिब १२.८% भूभाग ओगटेको छl चुरेले नेपालका ३६ वटा जिल्लालाई छोएको छ। यो क्षेत्र समुन्द्र सतहदेखि ९३-१९५५ मिटरको उचाइमा नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। तीन वर्षसम्म लगाएर गरिएको सो अनुसन्धान नेपालमा गरिएको ठुलो र विस्तृत अनुसन्धानमध्ये पर्दछ।

बाघमात्र नभई उक्त अनुसन्धानको क्रममा थुप्रै वन्यजन्तुहरू नेपालको लागि पहिलो पटक अभिलेख गरिएका छन्। उक्त क्षेत्रमा ४१ प्रजातिका स्तनधारी (२० प्रजाति दुर्लभ), ३७८ प्रजातिका चराहरू (८ वटा विश्वमा दुर्लभ), ९९ प्रजातिका उभयचर/सरीसृपहरू, २७९ प्रजातिका पुतलीहरू र १०४ प्रजातिका माछाहरू अभिलेख गरिएका छन्। १८ प्रजातिका पुतलीहरू नेपालमा पहिलो पटक अभिलेख गरिएको छ भने वाटर मोनिटर लिजार्ड र गोल्डेन ब्याक फ्रोग पनि नेपालमा पहिलो पटक अभिलेख गरिएको छ।

सो प्रतिवेदनले वन्यजन्तुको अनुसन्धानको आधार तयार गरेको छ। यसका साथै सो क्षेत्रमा भइरहेको अवैध वन्यजन्तुको सिकार, अत्यधिक चरिचरण, वन क्षेत्र घट्दै जानुसहित थुप्रै चुनौती रहेको तथ्यसमेत उल्लेख गरेको छ। यसका लागि मानिसको चाप घटाउनु पर्ने, समुदायमा संरक्षणका काम गर्नु पर्ने, वासस्थान सुधार गर्नु पर्ने र नियमित रूपमा वन्यजन्तुको अनुसन्धान गर्नु पर्ने भनेर सुझावसमेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell