PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सत्ता साझेदारीको प्रस्ताव अर्थहीन रहेको काँग्रेसको निष्कर्ष, 'नेकपा एकै रहेसम्म हतारिएर दौडिँदैन'



सत्ता साझेदारीको प्रस्ताव अर्थहीन रहेको काँग्रेसको निष्कर्ष, 'नेकपा एकै रहेसम्म हतारिएर दौडिँदैन'

काठमाडौं : नेपाली काँग्रेसले अहिलेको परिस्थितिमा नयाँ सरकार निर्माणमा कसैको प्रस्तावलाई साथ नदिने भएको छ। नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका दुई पक्षबाट प्रस्ताव आएपछि सभापति शेरबहादुर देउवाले आज पदाधिकारीको बैठक डाकेका थिए।

देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले अहिले नै सत्तामा जाने बारेमा निर्णय नगर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। बैठकपछि महतले भने, 'यसो गर्छु उसो गर्छु भन्ने स्थिति आएको छैन। जसरी परिस्थिति अघि बढ्छ त्यसरी सामना गर्छ काँग्रेसले।'

नेकपा अहिले एकै रहेको र यसको नेता केपी शर्मा ओली नै रहेकोले यसको छिनोफानो नभएसम्म काँग्रेसले सत्ता निर्माण प्रक्रियामा कुनै कदम नचाल्ने उनले बताए। 'उहाँहरुको पार्टी अहिले एकै छ। उहाँहरुको नेता ओली नै हुनुहुन्छ। उहाँहरु एकै भएर जान सक्नुहुन्छ,' महतले भने, 'काँग्रेस हतारिएर यो पक्षमा लाग्छु त्यो पक्षमा लाग्छु भन्नु हुँदैन। पार्टीको निष्कर्ष यही नै रह्यो।'

अहिलेको अवस्थामा सरकारको नेतृत्व वा मिलेर जाने भन्ने प्रस्तावको कुनै अर्थ नरहेको महतको भनाई थियो। 'सरकारको प्रस्तावको कुनै अर्थ छैन। कुरा आए पनि त्यो गम्भीर रुपमा लिनुपर्ने अवस्था छैन,' महतले भने, 'यसको पक्षमा लाग्ने उसको पक्षमा लाग्ने भन्ने आफ्नो वा अरुको भन्ने कुरा त्यो अपरिपक्वा हुन्छ। काँग्रेस त्यसको पछि दौडेर हिँड्दैन।'

संसदको बैठक शुरु भएपछि के हुन्छ भन्ने जिज्ञासा अहिले सबैमा रहेको उल्लेख गर्दै नेकपा अघि बढ्छ त्यही अनुसार अघि बढ्ने तयारी काँग्रेसले गर्ने बताए। नेकपाले के निर्णय गर्छ त्यो काँग्रेसको नियन्त्रणभित्रको कुरा नभएको उल्लेख गर्दै महतले सत्ता समीकरणबारे काँग्रेसले यसो गर्छ उसो गर्छ भन्ने स्थिति अहिले नै आइनसकेको दोहोर्‍याएका छन्।

प्रतिनिधि सभा पुनर्स्थापना भएको भोलिपल्टै नेकपा प्रचण्ड माधव पक्ष देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल चितवनबाट काठमाडौं आइपुग्नसाथ अबको सत्ता यात्रामा मिलेर जानका लागि देउवासँग प्रस्ताव गरेका थिए। यता ओली पक्षबाट पनि देउवालाई सत्ता साझेदारीका लागि प्रस्ताव आएको बताइन्छ। काँग्रेसले भने नेकपा पार्टी अहिलेसम्म औपचारिक रुपमा फुटि नसकेकोले आफूहरु 'पर्ख र हेर' को अवस्थामा रहेको जनाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell