PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नागरिक अभियन्ता र पीडितले घेरे महानगर : सडक विस्तार र कमलपोखरीमा कंक्रिट प्रतिगमन कै संकेत

नागरिक अभियन्ता र पीडितले घेरे महानगर : सडक विस्तार र कमलपोखरीमा कंक्रिट प्रतिगमन कै संकेत


काठमाडौं : काठमाडौं महानगरपालिकाले कमलपोखरीमा कंक्रिटको कमल ठड्याउने र बालाजु बाइपासमा सडक बिस्तारका लागि लिइएको जमिनमा सूचना केन्द्र बनाउन लागिएको विरोधमा स्थानीय र अभियन्ताहरुले आज काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।

कमलपोखरी सुकाएर वरिपरि कंक्रिटका संरचना बनाइएकोमा विरोध हुँदाहुँदै महानगरले पोखरीको बिचमा ढलान गरेको थियो। अभियन्ताहरुले शुक्रवार घनले हानेर बिचको ढलान भत्काएका थिए।

यस्तै, बालाजु बाइपासमा करिब ६ वर्षअघि सडक विस्तारका क्रममा लिइएको जग्गामा सूचना केन्द्र बनाउन लागेको भन्दै केही दिन अघि पीडितहरुले विरोध गरेका थिए। त्यसक्रममा केन्द्र बनाउन लगाइएको जस्तापाता पीडित स्‍थानीयले भत्काएका थिए। प्रहरीले जस्तापाता हटाउने ६ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई छुटाउन जाँदा बालाजु प्रहरी वृत्तमा मातृभाषा बोलेको विषयमा प्रहरीसँग विवाद हुँदा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि सहित दुईजनालाई पक्राउ गरिएको पीडित पक्षले जनाएका छन्।

बृहत नागरिक आन्दोलन, उपत्यका सडक विस्तार पीडित संघर्ष समिति र नेवा: देय दबुको संयुक्त आयोजनामा कमलपोखरी र बालाजुमा 'प्रतिगमन' भएको भन्दै काठमाडौं महानगरपालिका घेरिएको हो। त्यसक्रममा उपस्थित प्रदर्शनकारीहरुले 'कंक्रिटको भूत' भगाउने भन्दै धुप बालेर मन्त्र समेत उच्चारण गरेका थिए।

सडक विस्तारका क्रममा विस्थापित भएकी आशामाया खड्गीले आफूहरु बालाजुको स्ववासी भएको प्रमाण  हाल राजमन्त्री रहेका रामवीर मानन्धरले नै दिएको भन्दै अहिले उनैले आफूहरुलाई विस्थापित गर्ने प्रयास गरेको बताइन्।

'हामीले नियम अनुसार ७ मिटर नै छाडेका थियौं। तर, पछि हाम्रो बाँकी जग्गा समेत लियो। दुईतर्फी लिनुपर्ने जग्गा एकतर्फीमात्रै लियो।  अनि हामीले विरोध गर्दा हामीलाई नै विकास विरोधी भनिँदैछ,' उनले भनिन्, 'सडक बनाउन पर्छ भनेर हामीले नै भनिरहेका छौं। तर, हामीलाई विस्थापित गरेर बनाइएको सडक के काम? त्यसैले हामी निरन्तर संघर्षमा छौं।'

उनले हाल सडक बनाउने भनेर लिइएको जमिनमा सूचना केन्द्र बनाउन लागिएको र टयाक्सी र माइक्रो पार्किङ समेत गरिएको भन्दै सडक विस्तारको अभियानमाथि नै प्रश्न उठाइन्।

घेराउ कार्यक्रममा लिसा डंगोलले मातृभाषा बोल्न पाउने आफूहरुले मौलिक अधिकार भएको भन्दै कसैले पनि मातृभाषामा बोल्न रोक्न नपाउने बताइन्।

अधिवक्ता समेत रहेकी डंगोलले भनिन्, 'हामीले हाम्रो मातृभाषामा बोल्न नपाउने भन्ने हुँदैन। हामीलाई बोल्न कसैले रोक्न सक्दैन। बालाजुमा जसरी प्रतिगमन भएको छ भोलि त्यो अरु ठाउँमा पनि हुन सक्छ। आज उनीहरुको घर गयो। भोलि अरु कसैको घर गैर नागरिक तरिकाले लिन सक्छ। यसको विरोध हुनुपर्छ।'

अभियन्ता रविन्द्र श्रेष्ठले पक्राउ परेका स्थानीय र अभियन्ताहरुलाई तत्काल रिहा गर्नुपर्ने माग समेत राखे। 



ट्रेन्डिङ पोस्ट

Ncell