PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुँदै, मनिषा कोइरालादेखि रवीन्द्र मिश्रसम्म सहभागिता रहने



गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुँदै, मनिषा कोइरालादेखि रवीन्द्र मिश्रसम्म सहभागिता रहने

काठमाडौं : फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ।

चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना हुने आयोजकले विहीवार विज्ञप्तिमार्फत जनाएको छ। उक्त कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ।

साथै लेखकका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन्। कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा तथा पाठकसँग संवाद एवम् अन्तक्रिया पनि गर्ने बताइएको छ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्। विशेष छुटमा पुस्तक प्रदर्शनी रहनेछ। अन्य रचनात्मक कार्यक्रम पनि हुनेछन्।

यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ। ‘बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिनेछ। कोभिडले ल्याएको मानिसमानिसबीचको दूरी हटाउनेछ। भावनात्मक एकता ल्याउन सघाउनेछ,’ आयोजकले भनेको छ।

यो एउटा लेखक साहित्यकारको जमघट मात्र नभइ कला, संस्कृति, साहित्य आदिमा रुचि एवम् जिज्ञासा राख्नेहरूको महोत्सव नै हुने आयोजकको आशा छ। यो कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो। कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्नेछैन।

को को सहभागी हुँदै छन्?

फाइनप्रिन्ट फिभरका अवसरमा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने, पुँजीवाद र स्वतन्त्र समाजका आधारशिलाका अनुवादक मुराहरि पराजुली, कका लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडालको सहभागिता रहनेछ। यी लेखकका कृतिबारे सत्रहरू सञ्चालन हुनेछन्।

उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति राजनीतिसँगै राजकाज पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell