PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘नियात्रामा नौलो आयाम’ सार्वजनिक



‘नियात्रामा नौलो आयाम’ सार्वजनिक

काठमाडौं : डा. विदुर चालिसेद्वारा लिखित ‘नियात्रामा नौलो आयाम’ समालोचना पुस्तक सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभागद्वारा आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक भएको हो।

कार्यक्रममा नेपाली विभागका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. घनप्रसाद पण्डित, विशेष अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा कुमारप्रसाद कोइराला, डा. लेखप्रसाद निरौला, श्री केशवप्रसाद चालिसे तथा कृतिका लेखक डा. विदुर चालिसेले पुस्तकमाथि आफ्नो मन्तव्य राखे।         

कार्यक्रममा प्रमुख अतिथि प्रा. धनप्रसाद पण्डितले पुस्तक सार्वजनिक गर्दै पद्मकन्या बहुमुखी क्याम्पसले विगतदेखि प्राज्ञिक उन्नयनमा आफ्नो भूमिका अग्रणी राख्दै आएकोमा डा. चालिसेको यो कृतिले नेपाली नियात्रा साहित्यको सैद्धान्तिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसले क्याम्पसको गरिमासमेत बढाएको बताए।

विशेष अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’ले  नेपाली नियात्रा साहित्यको सैद्धान्तिक क्षेत्रमा यस पुस्तकले नयाँ बहस शुरू गर्ने विश्वास गरे। अर्का वक्ता प्रा. डा. कुमारप्रसाद कोइरालाले कृतिको समीक्षा गर्दै नेपाली नियात्रा साहित्यमा नवीन सिद्धान्तको रूपमा ‘हाइबुन‘ र ’कर्खाटन‘ शैलीको सैद्धाान्तिकीकरण गरेर पुस्तकलाई नयाँ आयाममा प्रस्तुत गरेको बताए।

समीक्षक डा. लेखप्रसाद निरौलाले कृतिले समेटेको नियात्राका नवीन सिद्धान्तको विस्तृत चर्चा गर्दै पुस्तकले  समेटेको प्राचीन नेपाली नियात्रा लेखनको ईतिहास, सैद्धाान्तिक पक्ष र प्रायोगिक रूमा रहेका नियात्राकार कृष्ण बजगाईंको नियात्राकारिताको चर्चा गर्दै उक्त पुस्तकले समेटेको विभिन्न विषयका बारेमा विचार राखे।

कृतिका लेख चालिसेले समग्र नियात्रा साहित्यको मूल्याङ्कन तथा वि. सं. १३७८ को आदित्य मल्लको नियात्रा बारेको अभिलेखीय इतिहास, ‘हाइबुन’, ‘हाइगा’ र ‘कर्खाटन’को नेपाली परम्परा र इतिहासको बारेमा प्रकाश पारे।

कार्यक्रमका सभापतिको डा. शैलेन्दुप्रकाश नेपालले नियात्रा साहित्यको गरिमा निर्माणका लागि यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दै नियात्रा साहित्यमा यस कृतिले नयाँ धारणा प्रस्तुत गरेकोले यसले सबैको ध्यान बहस तथा लेखनमा तान्ने बताए। शुक्रवार आयोजित कार्यक्रम डा. फणीन्द्रराज निरौलाले संचालन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell