PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पश्चिम बंगालमा कसको सरकार? ममता बनर्जीलाई हराउन बीजेपीको मिथुन चक्रवर्ती कार्ड



पश्चिम बंगालमा कसको सरकार? ममता बनर्जीलाई हराउन बीजेपीको मिथुन चक्रवर्ती कार्ड
File Photo : OUTLOOK INDIA

नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल यतिखेर विधानसभा निर्वाचनको तयारीमा व्यस्त छ। शहरदेखि गाउँका सडकहरु निर्वाचनको पोस्टरहरुले सजिएका छन्। केन्द्रमा सत्तामा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पश्चिम बंगालमा जित निकाल्नुलाई आफ्नो प्रतिष्ठासँग जोडेको छ। ममता बनर्जीको नेतृत्वमा रहेको तृणमूल कँग्रेस बंगालमा सत्ता जोगाउने दाउमा छ।

यसबिच आज निर्वाचनको तयारीका क्रममा मोदी कोलकाता केन्द्रित हुँदैछन्। उनले कोलकाताको बिग्रेड ग्राउन्डमा दिउँसो र्‍यालीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यता, ममता भने सिलिगुडी र दार्जिलिङमा चुनावीमा र्‍यालीमा सहभागी हुँदैछिन्।

आज पश्चिम बंगालमा हाइप्रोफाइल सभा हुने भएकोले सुरक्षा प्रबन्धलाई कडा पारिएको छ।

यस निर्वाचनमा मनोरञ्जन क्षेत्रको सहभागिता चर्चाको विषय बनेको छ। बंगाली फिल्मी क्षेत्रका अभिनेता र अभिनेत्रीहरु विभिन्न दलमा बाँधिएका छन्।

ममतालाई पराजित गर्न भारतीय जनता पार्टी (बीजेपी) बंगालमा चर्चित अनुहार खोजिरहेको बताइन्छ। यसबिच बलिउड अभिनेता मिथुन चक्रवर्तीले बीजेपीलाई सहयोग गर्ने भन्दै स्थानीय मिडियाले समाचारहरु प्रकाशित गरेका छन्। यद्यपि, मिथुनले आधिकारिक रुपमा बीजेपी प्रवेश गरेको घोषणा भने गरिसकेका छैनन्। आज हुने मोदीको र्‍यालीले मिथुन चक्रवर्तीको बीजेपी प्रवेश र उम्मेदवारीबारे केही घोषणा हुनसक्ने अनुमान गरिएको भारतीय राजनीतिक विश्लेषकहरुले गरेको स्थानीय मिडियाले उल्लेख गरेको छ।   

सन् २०१४ मा मिथुन तृणमूलबाट राज्यसभा सांसद बनेका थिए। २०१६ मा स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका थिए।

हालभने उनी मोदी सरकारको पक्षमा उभिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। आज कोलकातामा मोदी सहभागी हुने र्‍यालीमा मिथुन चक्रवती समेत सहभागी हुने बताइएको छ। बीजेपीमा समेल हुनुअघि मिथुन र राष्ट्रिय स्वयं सेवक संघ प्रमुख मोहन भागवतबिच मुम्बईमा छलफल भएको थियो। सन् २०१९ मा नागपुरा समेत यी दुईबिच छलफल भएको बताइन्छ। यस्तै, बीजेपी नेता कैलाश विजयवर्गीय र मिथुनबिच पनि छलफल भएको छ। कैलाशसँगको छलफलमा मिथुनले बीजेपीमा प्रवेश गर्ने बताएको दाबी गरिएको छ।

बलिउड सुपरस्टार मिथुन बंगालमा समेत प्रसिद्ध छन्। बीजेपीले यसैको फाइदा उठाउँदै उनलाई यसपटकको विधानसभा निर्वाचनमा टिकट दिन सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell