PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मृतक एकजना, फोटो अर्कैको : प्रविन बास्तोलाको रहस्यमय मृत्यु प्रकरणमा भएको के थियो?



मृतक एकजना, फोटो अर्कैको : प्रविन बास्तोलाको रहस्यमय मृत्यु प्रकरणमा भएको के थियो?

विराटनगर : उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बास्तोलाको रहस्मय हत्यामा प्रहरीले अनुसन्धान फाइलमा त्रुटिवस अर्कै मानिसको फोटो राखेको स्वीकार गरेको छ। तर, कुनै पनि पूर्वाग्रहको कारणले नभएर सामान्य त्रुटिका कारण अन्य व्यक्तिको फोटो परेको प्रहरीको भनाइ छ। फाइलमा फोटो फरक परे पनि फागुन ९ गतेको अनुसन्धान प्रतिवेदनमा भने फोटो नबुझाएको प्रहरीले जानकारी दिएको छ।

पीडित परिवारले प्रहरीले नक्कली फोटो कीर्ते गरी बुझाएको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति बनाएको थियो। समितिले बुझाएको प्रतिवेदनले पनि फोटो कीर्ते नगरेको देखिएको छ।

प्रविनको रहस्मय मृत्यु भएको अघिल्लो दिन पुस ३ गते करेन्ट लागि घाइते भएका मोरङ लेटाङ नगरपालिका वडा नम्बर ८ घर भई उर्लाबारी नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय नविनराज घिमिरे गहतराजको गोदवारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यही फोटो इलाका प्रहरी कार्यालय उर्लाबारीमा अनुसन्धानको लागि राखिएको हुँदा प्रहरी जवान योगिन सार्कीले कार्यालयको कम्प्युटरबाट मृतकको फोटो प्रिन्ट गरी राखेको देखिएको छ।

प्रहरीले त्रुटि गरेको बारेमा जानकारी लिन संलग्न प्रहरीलाई बयानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ झिकाएको एसपी सन्तोष खड्काले बताए।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतवार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएको हो। 'फागुन ९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभएको तथा सो फोटो कीर्ते गरी बदनियतपूर्वक राखिएको देखिँदैन,' जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले भने।

त्यस्तै, प्रहरीले घटनास्थलबाट उठाएको मुचुल्कामा समेत मृतक प्रविनको कपडा समेत च्यातिएको उल्लेख नगरेको भन्दै आलोचना भएको थियो। तर, प्रहरीले यस विषयमा समेत पत्रकार सम्मेलनमा जवाफ दिएको छ।

'प्रविनले लगाएको कपडा इसीजी गर्दा गोदवारी अस्पतालका कर्मचारीले नै माथि छाती तर्फ सारेको उक्त च्यातिएको अवस्थामा देखिँदैन सो कुरा मृतकको वास्तविक फोटो, लाश जाँच मुचुल्का तथा गोदवारी अस्पतालको आकस्मिक कक्षमा हेल्थ असिस्टेन्ट समेत बताएका छन्,' एसपी खड्काले भने।

पुस ४ गते प्रविन बास्तोलाको रहस्मय मृत्यु भएको थियो। घटना भएको दिन सँगै एउटै कोठमा बसेका साथी, घरबेटी, होटेल संचालक सहित घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरिएको थियो। उर्लाबारी ६ बस्ने राजेश रणपहेली, राकेश शिवा भन्ने मेहरमान दर्जी, दीपेश पौडेल, सुदीप परियार, रमेश गिरी र कुमार राईलाई प्रतिवादी बनाइएको थियो।

जिल्ला अदालत मोरङ्ले मेहरमा दर्जी र सुदीप परियारलाई पूर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। त्यस्तै, होटेल संचालक कुमार राई तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए। घरबेटी रमेश गिरी १ लाख रुपैयाँमा छुटेका छन्। राजेश रणपहेलीको भने अदालतमा मुद्दा चलिरहेको छ। अर्का प्रतिवादी दीपेश पौडेललाई भने नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell