PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

छोराको रङको विषय उठाउँदै मेगनले बेलायती राजपरिवारमाथि लगाइन् नश्लीय विभेदको आरोप



छोराको रङको विषय उठाउँदै मेगनले बेलायती राजपरिवारमाथि लगाइन् नश्लीय विभेदको आरोप

प्रिन्स ह्यारी र उनकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नु परेका कठिनाइहरु सार्वजनिक गरेका छन्। ओपरा विनफ्रीसँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा खुलासासमेत गरेका छन्।

मेगनले शाही परिवारले आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको दाबी गरेकी छिन्। साथै आफ्नो छोराको छालाको रंगलाई लिएर शाही परिवारको एक सदस्यले टिप्पणी गरेको समेत उनले खुलासा गरिन्। 

'उनीहरु आर्चीलाई राजकुमार बनाउन चाहँदैन थिए किन भने उनीहरुलाई डर थियो कि उसको छालाको रंग कालो हुन सक्छ भनेर,' उनले अन्तर्वार्ताको क्रममा भनेकी छिन्।

अन्तर्वार्ताका क्रमा मेगनले छालाको रंगलाई लिएर चिन्ता व्यक्त गर्ने सदस्यको नाम भने खुलाउन चाहिनन्। नाम खुले उनको इज्जतमा धक्का लाग्ने मेगनले बताइन्।

मेगनले शाही परिवारसँग जोडिएपछि आफ्नो स्वतन्त्रता सीमित पारिएको बताइन्। शाही सदस्यको रुपमा आफू दरबारमा एक्लिएको र मानसिक रुपमा अस्वस्थ्य बनेको समेत उनको खुलासा थियो। बाहिर साथीहरु सँग जान रोक्ने लगायतका अन्य प्रतिबन्धका कारण मेगनले आत्महत्या गर्ने विचार समेत आएको सुनाइन्।

मेगनले ह्यारी र आफूले शाही रितिरिवाजबाट विवाह गर्नु ३ दिन अघि नै सामान्य तरिकाले विवाह गरेको पनि खुलासा गरिन्। शाही विवाह भने 'विश्वलाई देखाउन'मात्रै गरेको मेगनले बताइन्।

मेगन र ह्यारी सन् २०१६ मा ब्लाइन्ड डेटमा भेटेका थिए। सन् २०१८ मा उनीहरुको विवाह भएको थियो। गत वर्ष उनीहरुले राजपरिवारबाट अलग हुने घोषणा गरेका थिए।

राजपरिवारबाट अलग हुनुमा शाही परिवारले मेगनप्रति गरेको व्यवहार र बेलायती मिडियाको भूमिका प्रमुख कारण रहेको बताइन्छ।

युरोपियन युनियनबाट छुटिएर 'ब्रेक्जिट' लाई कार्यान्वयन गर्ने तयारी भइरहँदा मेगन बेलायती राजपरिवारबाट बाहिने भएकाले यो पूरै घटनालाई 'मेगजिट'का रुपमा प्रस्तुत गरिएको थियो।

मेगनको 'असन्तुष्टि' नै बेलायती राजपरिवारबाट उनीसँगै ह्यारीको बहिर्गमनको कारण भएको प्रस्ट छ। विशेषगरी मेगनलाई लिएर पहिलादेखि नै बेलायतीहरु पक्ष र विपक्षमा थिए। दुवै जनाको विवाहको समयमा नै मार्कललाई अमेरिका फर्कन भन्दै ट्रोल गर्नेहरुले 'मेगजिट' शब्दको प्रयोग गर्दै आएका थिए।

मेगनप्रति मिडियाको नकारात्मक टिप्पणीप्रति ह्यारी दम्पत्तीले धेरै पटक असन्तुष्टि जनाएका थिए। तर, ह्यारी र मेगनले आफूप्रति भएको विभेदका बारेमा राजपरिवारका सदस्यहरु नबोलेकोमा असन्तुष्टि व्यक्त गरे। आफूले गरेका हरेक काममा मिडियाले प्रश्न उठाउन थालेपछि ह्यारीले यसको प्रतिवादमा समेत उत्रनुपरेको थियो।

प्रिन्स चार्ल्सपछि बेलायतको राजगद्धिको उत्तराधिकारी रहेका ह्यारीका दाजु राजकुमार विलियम्सकी श्रीमती केट मिडलटनसँग तुलना गर्दै मिडियाले मेगनलाई प्रस्तुत गर्ने गरेकाले उनी दु:खी थिइन्। अन्तर्वाताको क्रममा ह्यारी र आफ्नो विवाह अघि केट खुशी नभएको समेत मेगनले खुलासा गरिन्। यस्तै, केटले उनलाई विवाह अघि रुवाएको समेत दाबी गरिन्।

मेगनले शाही परिवारमाथि विश्वास गर्नुलाई आफ्नो भुल भएको स्वीकार गरिन्। ह्यारीले भने आफूलाई मेगनप्रति गर्व लागेको बताए। मेगनले गर्भवती हुँदा धेरै कष्ट भोग्नु परेको ह्यारीले बताए।  

उनीहरुको अन्तर्वातालाई बेलायती मिडियाका साथै विश्वभरका मिडियले प्राथमिकताका साथ कभर गरिरहेको छ। ह्यारी र मेगनको अन्तर्वार्ताको आलोचना र समर्थन भइरहेको छ। आलोचकहरुले मेगनको आरोप राजसंस्थालाई बदनाम गराउन भएको समेत बताएका छन्। बेलायती राजपरिवारले भने ह्यारी र मेगनले अन्‍तर्वार्तामा लगाएको आरोपहरुको बारेमा केही बोलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell