PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गैंडाकोटमा आजदेखि 'फाइनप्रिन्ट फिभर'



गैंडाकोटमा आजदेखि 'फाइनप्रिन्ट फिभर'

काठमाडौं : नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा आजदेखि फाइनप्रिन्ट फिभर सुरु हुने भएको छ। चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा आज र भोलि फाइनप्रिन्ट फिभर आयोजना हुँदैछ।

फिभरका अवसरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने आयोजकले जनाएको छ। लेखकहरुसँग बौद्धिक विमर्शका सत्रहरू संचालन हुनुका साथै कार्यक्रममा पुस्तकका विषयमा पाठकसँग संवाद एवम् अन्तरक्रिया समेत हुनेछ।

यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने विश्वास आयोजकले लिएको छ।

दुई दिनसम्म चल्ने फाइनप्रिन्ट फिभरका अवसरमा विभिन्न सेसनहरु आयोजना हुनेछन्। ‘देशजगत्’ शीर्षकको सेसनमा लेखक एवं उद्यमी जीवा लामिछानेसँग काङ्ग्रेस नेता गगन थापाले संवाद गर्नेछन्। अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नेछन्। ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गर्नेछन्। उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ विमोचन समेत हुनेछ।

यस्तै, ‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सेसनमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्नेछिन्। साथै ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद गर्नेछन्।

यसैगरी, ‘इन्द्रेणी’ शीर्षकको सेसनमा निरञ्जन कुवँरसँग उनको पुस्तक ‘बिटविन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नेछिन् । ‘रहर’ कथासंग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्नेछिन्।

फिभरका अवसरमा कवितासङ्ग्रह ‘क’का लेखक असीम सागरको कवितावाचन पनि रहनेछ। ‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग उमेश चौहानले संवाद गर्नेछन्।

‘किताब मनको साथी’ शीर्षक सत्रमा राजेश हमालले पुस्तकबारेका आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवम् लगावबारे चर्चा गर्नेछन्।  कार्यक्रमका अवसरमा ‘सेतो धरतीको एक दशक’ शीर्षक सत्र पनि रहनेछ। यसमा लेखक अमर न्यौपानेले पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया पाए, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पार्‍यो भन्ने विषयमा पनि उनले आफ्ना धारणा राख्नेछन्।

फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करण लोकार्पण गर्ने कार्यक्रमसमेत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell