PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : मन्त्री त्रिपाठी, 'कोरोनाका कारण आतंकित हुनुपर्ने अवस्था पनि छैन'



सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : मन्त्री त्रिपाठी, 'कोरोनाका कारण आतंकित हुनुपर्ने अवस्था पनि छैन'
फाइल फोटो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा सम्बोधनका क्रममा मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन्।

लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको उनको भनाई थियो। लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे। ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस्। लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ,' मन्त्री त्रिपाठीले भने, 'किनभने लकडाउनले कम हुने त एकातिर छदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दिर्घकालिन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाई लडिरहेको छ। हामी पनि एउटा यो लडाईमा योद्ध भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाई गर्न तयार छ।’
 

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए। यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको उल्लेख गर्दै उनले कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे। भने, ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं। तर एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन। आतंकित हुनु भनेको यो संक्रमणलाई झन थप्नु हो। सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन।’

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशित भइरहेको र त्यस मध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको उनले बताए। चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबार देखि शुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिए। नेपाल न्युज एजेन्सी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell