PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सर्वदलीय बैठक : बालुवाटार पुगेनन् प्रचण्ड, माधव नेपाल समूहसँगै बाबुराम-उपेन्द्र पनि अनुपस्थित



सर्वदलीय बैठक : बालुवाटार पुगेनन् प्रचण्ड, माधव नेपाल समूहसँगै बाबुराम-उपेन्द्र पनि अनुपस्थित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकलाई माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बहिष्कार गरेको छ। कोभिड-१९ संक्रमणका बारेमा एक मत बनाउन भन्दै ओलीले बैठक बोलाएको भए पनि आफूलाई सूचना नआएको भन्दै प्रचण्ड-नेपाल बैठकमा नगएका हुन्।

प्रधानमन्त्री ओलीले शुक्रवार प्रचण्डसँग टेलिफोन संवाद गरेका थिए। प्रचण्डको सचिवालयका अनुसार भेटघाटका बारेमा कुराकानी भए पनि सर्वदलीय बैठकबारेमा भने ओलीले प्रचण्डलाई जानकारी गराएका थिएनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने निर्णय गरेको माओवादी केन्द्रले ओलीको राजीनामा माग गरिरहेको छ। शुक्रवारको टेलिफोन संवादमा भेटन विषयमा कुराकानी भएको तर बालुवाटारमै भेटनुपर्ने ओलीले अडान राखेपछि भेट हुन नसकेको प्रचण्ड निकट स्रोतले बताएको छ। प्रचण्डले सिंहदरबारमा भेटनुपर्ने बताए पनि ओलीले बालुवाटारमै भेटनुपर्ने बताएका थिए।

'सिंहदरबारमा भेटन कुरा भए पनि प्रधानमन्त्रीले बालुवाटारमै भनेपछि भेट भएन, ' स्रोतले भन्यो।

सम्बन्धित समाचार : बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक, को को छन् सहभागी?

संसदमा प्रतिनिधित्व गर्ने सबै दल,पूर्व प्रधानमन्त्री लगायतलाई बैठकमा बोलाइएको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। सबै दललाई बोलाइएको भए पनि संसदको तेस्रो ठुलो दलले बैठकलाई बहिष्कार गरेको हो।

यस्तै, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीष परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि बैठक बहिष्कार गरेका छन्। प्रधानमन्त्री ओलीकै निरन्तरताका विषयमा जसपामा भट्टराई-यादव र महन्थ ठाकुर समूहबीच विवाद उत्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली हटाउने विषयमा प्रचण्ड-नेपाल अन्तिम कसरतमा रहेको भए पनि अझै बलियो मोर्चा बन्न सकिरेहेको छैन्। शुक्रवार कर्णाली प्रदेशमा नेपाल समूहका सांसदहरुले 'फ्लोर क्रस' गरेपछि अब केन्द्रमा पनि त्यसको प्रभाव पर्ने प्रचण्ड-नेपाल निकट नेताले बताउन थालेका छन्।

ओलीले बोलाएको सर्वदलीय बैठकमा पनि उनी राजनीतिक गतिरोधको असर देखिएको छ। यसअघि चैत ३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएको बैठकमा मओवादी केन्द्रले सहभागिता जनाएको थियो।

ओलीको तत्काल विकल्प खोज्नुपर्ने विषयमा नेपाली कांग्रेस, जसपा र एमालेमा दुई धार देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell