PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रहेनन् कैयौं कालजयी गीतका रचनाकार चेतन



पहिलोपोस्ट

रहेनन् कैयौं कालजयी गीतका रचनाकार चेतन

गण्डक क्षेत्रमा प्रचलित लोकभाका 'तीजको रहर आयो बरी लै'लाई तत्कालीन समाजका महिलाको भोगाइ समेटेर गीत बनाए चेतन कार्कीले। पहाडी क्षेत्रमा छोरीचेलीको विवाह गराएर टाढा पठाउने चलन थियो। तीज अघि बाबा, दाजु, भाइ लिन जान्थे। बिहे गरेर गएकाहरु जम्मा हुन्थे। आफ्ने घरको कुरा साट्थे। त्यही कुरा शब्दमा उतारेका थिए उनले। फिल्म 'कन्यादान'का लागि। गीत बन्यो :

'गाऔं स्वर खोलेर दिदी र बहिनी

नाचौंला मिलेर दामली सैनी

तीजको रहर आयो बरी लै

तीजको रहर आयो बरी लै' 

भाका चाहिँ जनकवि केशरी धर्मराज थापाको प्रसिद्ध गीत 'नेपालीले माया मार्‍यो बरी लै'बाट लिइएको थियो।

त्यसअघि तीजका कुनै गीत लेखिएको थिएन। त्यसपछि धेरै गीत लेखिए। तर ३२ वर्षअघि लेखिएको त्यही गीतको छाप आजसम्म धमिलो भएन। हरेक वर्ष तीजताका ताजा बनेर घन्कने यस गीतका गीतकार कार्की भने अब रहेनन्।

संस्कृतिकर्मी तथा फिल्मकर्मी समेत रहेका  उनले आइतवार प्राण त्यागे। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत् ८३ वर्षीय उनको कोरोना भाइरस संक्रमणपछि निधन भएको हो।

केही दिनअघि देहरादूनबाट काठमाडौं फर्किएका उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। फिल्मकर्मी निर शाहले उनको मृत्युको पुष्टि गरे। भने, 'नेपाली चलचित्रका एक जिउँदो इतिहासलाई गुमायौं।'

वि.सं. १९९५ कार्तिक २२ गते स्याङ्जाको बहाँटारीमा जन्मेका उनले फिल्म 'परिवर्तन'बाट फिल्म लेखन सुरु गरेका हुन्। त्यस्तै 'विश्वास', 'भूमरी', 'पहिलो प्रेम'जस्ता फिल्म उनको निर्देशनमा बनेका हुन्।

गीतसँगै कविता, कथा तथा उपन्यास लेखनमा जीवनभर सक्रिय रहेका थिए। उनी नेपाली भाषामा मात्र होइन हिन्दी र उर्दू भाषा पनि कविता लेख्थे।  

चेतन कार्कीको तीजको रहर आयो बरिलैसँगै कान्छी हे कान्छी, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, छोरीको जन्म हारेको कर्म, अंग अंगमा तरंग बोकी, बैनीको दया छ भने जस्ता गीतहरू लोकप्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell