PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

चार वर्षपछि खुल्दै ट्विटर भेरिफिकेसनको आवेदन, ६ विधाका प्रयोगकर्ताहरु मात्रै योग्य



चार वर्षपछि खुल्दै ट्विटर भेरिफिकेसनको आवेदन, ६ विधाका प्रयोगकर्ताहरु मात्रै योग्य
Photo : Twitter

ट्विटरले सन् २०१७ देखि रोकेको एकाउन्ट भेरिफिकेसन प्रक्रिया पुन: सुरु गरेको छ। ट्विटरले नयाँ भेरिफिकेसन प्रक्रिया तथा आवेदन मूल्यांकन फेरि सुरु गर्ने निर्णय गरेको हो।

ट्विटरले विभिन्न ६ विधामा कुनै पनि प्रयोगकर्ताको खाता भेरिफिकेसन गर्ने जनाएको छ। सरकारी निकायसँगै समाजका प्रतिष्ठित एवम् प्रभाव पार्ने कुनै पनि कम्पनी तथा संस्था, ब्राण्ड, सञ्चारमाध्यम र पत्रकार, मनोरञ्जन, खेलकुद, अभियन्ता, आयोजकलगायतकाको ट्विटर खातालाई निलो ब्याजसहितको भेरिफिकेसन गर्ने जनाएको छ।

भेरिफिकेसन सफल गर्न भने प्रयोगकर्ताहरुले निश्चित प्रक्रिया तथा मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने ट्विटरले जनाएको छ।

केही हप्ताभित्र ट्विटरको एकाउन्ट सेटिङमा भेरिफिकेसन आवेदनको ट्याब देखिने ट्विटरले जनाएको छ। भेरिफिकेसन गर्न माथि उल्लेखित ६ वटा विभिन्न विधाका प्रयोगकर्ता हुनु जरुरी हुन्छ।

ट्विटरले प्रयोगकर्ताको पहिचान खुल्ने गरी सरकारी निकायले जारी गरेको परिचयपत्र, आधिकारिक इमेल वा आधिकारिक वेबसाइट लिंकले प्रयोगकर्ताको रिफ्रेन्स दिनुपर्ने ट्विटरले जनाएको छ।

प्रयोगकर्ताले आवेदन बुझाएको केही दिनमा ट्विटरले इमेल गर्नेछ। प्रयोगकर्ताले बुझाएको आवेदनको सम्पूर्ण मूल्यांकन गरेपछि ट्विटरले खाता भेरिफाइ गर्ने/नगर्ने निर्णय लिनेछ। भेरिफिकेसन सफल भएमा प्रयोगकर्ताको खातामा नीलो ब्याच देखिनेछ। यदि असफल भएमा पुन: ३० दिन पछि भेरिफिकेसन प्रक्रियाका लागि आवेदन दिन सकिने बताइएको छ।

अहिले सीमित विधाका प्रयोगकर्ताहरुलाई मात्रै ट्विटरले भेरिफिकेसनको सुविधा दिएकोमा यसै वर्षबाट विधा थप गर्ने गृहकार्य भइरहेको जनाएको छ। यसअघिको नीतिलाई फेर्दै ट्विटरले गत डिसेम्बरमा मात्रै भेरिफिकेसन सम्बन्धि नयाँ नीति ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell