PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

म्याग्मा [कविता]



म्याग्मा [कविता]
फोटो : unsplash.com

  • निर्दोष एनपी-

म पुरुष भनेर जब नामाङ्कित भएँ

मेरो रुने अधिकार खोसियो

भन! म कसरी बलवान्?

 

मेरा अगाडि पासाङले हिमाल उचाँलिन्

मिराले पहाड चढेर विश्व जितिन्

म भने त्यही पहाडमुनि कुल्चिरहे

जिद्दी लाभाका गुराँसहरूलाई

यी आँखाहरूबाट तप्प-तप्प चुहाँउदै

धित नमरून्जेलसम्म रुन चाहेँ

दुर्भाग्य! कसैले बहादुर भनेर डाक्यो!

 

मेरा पनि त आँखाहरू छन्

मेरा आँखाभित्र पनि त आँशुको ठूलो रारा छ

भत्काइदेउ ती बाँधहरूलाई

त्यहाँ हर्षका काली र कोशी बन्दी भएका छन्

बरु मेरा आँसुको मूल्य तोक म खेत बेचेरै तिरुँला

बस् मलाई रुन देऊ

यी बलिरहेका आँखाहरूभित्र कैद अँधेरा जुनकिरीहरूले

कर्णालीका प्रत्येक मौजाहरूमा पूर्णिमा नछरेसम्म!

 

मेरा आँसुहरूलाई पनि त झरना जस्तै

हाम फाल्न मन छ कुब्ला खाँको कविताभित्र

र नाकको डिल हुँदै लामो सफर तय गर्नु छ नाइलजस्तै

पिडाको इतिहास मभित्र पनि छ, अनुसन्धान गर!

 

बरू हिटलरका अगाडि

मलाई यहुदी भनेर औँला ठड्याऊ

म उसको क्रूरतालाई पनि सलाम गर्नेछु

कृपया मलाई रुन देऊ दुःखको तौल नघटेसम्म!

 

अहिल्यै खारेज गर

म उपर लिखित तिम्रो संविधानलाई

अनगिन्ती चोटका शरणार्थी तीरहरूले

बलजफ्ती मुटुमा बसाई सारेका छन्

सुकिला बादलहरूको रङ्ग पनि बदलिएको छ

आँखाको कृत्रिम कन्दराभित्र

म पुनः बिन्ती गर्छु

ती बादलहरूलाई बर्षिन देऊ

आँखामा शिरिष नफुलेसम्म।

हाल - .उप..पा १३ राजपुर, कैलाली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell