काठमाडौं : नेपाली कांग्रेसले वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका छन्। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार नै वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसदलाई निर्देशन गरिसकिएको जनाएका हुन्।
आज एक विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले भनेका छन्, 'वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ। प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ।'
वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको कदमको विरोध गर्दै महात्मा गान्धीका लागि नाथुराम गोड्से झै आफू बन्न तयार रहेको बताएका थिए।
कांग्रेसले आलोचना गर्दा पार्टीको नीति र संस्कृतिलाई बिर्सन नहुने भन्दै वैद्यलाई सचेत पारेका छन्। 'नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन। आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन। शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ,' कांग्रेसको विज्ञप्तिमा भनिएको छ, 'हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन। पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ।'