PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महानगरको नीति तथा कार्यक्रम : जेष्ठ नागरिकका लागि सय शय्याको विशेष अस्पताल निर्माण गरिने



महानगरको नीति तथा कार्यक्रम : जेष्ठ नागरिकका लागि सय शय्याको विशेष अस्पताल निर्माण गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचार गर्न विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको  ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने बताएका हुन्।

शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्योपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उल्लेख छ।

कोभिड–१९ बाट संक्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर संचालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेशन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यस्तै वडा कार्यालयमा संचालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नती गरी महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरि कार्यक्रममा उल्लेख छ। विशेषज्ञ चिकित्सकद्वारा नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइने समेत बताइएको छ।

महानगरवासीका लागि बीमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने पनि नीति लिइएको छ। महानगर क्षेत्रभित्र रहेका होटल, रेष्टुरेन्ट, खाजाघर, अनलाइन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्धति, प्रक्रिया, संलग्न जनशक्तिको सरसफाइ र सेवाग्राहीले खाना तथा खाजा उपभोग गर्ने स्थलसमेतको समग्र मूल्याङ्कन गरी त्यस्ता सेवा प्रदायकको सेवाको गुणस्तर सुनिश्चित गर्न सूचीकृत एवं वर्गीकरण गरी महानगरपालिकाले प्रमाणपत्र जारी गर्ने नीति तथा कार्यक्रममा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell