PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ब्राजिलमा कोरोनाका कारण ५ लाखभन्दा बढीको मृत्यु, बोलसोनारो सरकार 'नरसंहार' मा उत्रेको भन्दै विरोध प्रदर्शन



ब्राजिलमा कोरोनाका कारण ५ लाखभन्दा बढीको मृत्यु, बोलसोनारो सरकार 'नरसंहार' मा उत्रेको भन्दै विरोध प्रदर्शन
Photo : Bruna Prado / AP

ब्राजिलमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। अलजजिराका अनुसार ब्राजिलमा पछिल्लजो एक हप्तामा दैनिक करिब २ हजार संक्रमितको मृत्यु भइरहेको छ। शनिवारमात्रै १७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। संक्रमणका कारण अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको छ।

ब्राजिलमा कूल १७ करोड ८ लाख ८३ हजार ७५० जनामा संक्रमण पुष्टि भइसकेको छ। शनिवारसम्म ५ लाख ८६८ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय मृत्यु दर बढ्दै कूल मृतकको संख्या ५ लाख नाघेपछि राष्ट्रपति जैर बोलसोनारोविरुद्ध प्रदर्शन चर्किएको छ। यसअघि पनि बोलसोनारोले संक्रमण रोक्न कुनै पहल नगरेको भन्दै विरोध हुँदै आएको थियो। राष्ट्रपतिले कोरोना संक्रमणलाई हल्का रुपमा लिँदै आएका छन्।

मृत्यु दर उच्च हुँदा पनि ब्राजिलमा हाल कोपा अमेरिका संचालन भइरहेको छ। भ्याक्सिनको जोहो गर्नु सट्टा खेलकुद प्रतियोगिता गरेको भन्दै बोलसोनारोको आलोचना हुँदै आएको छ।

ब्राजिलमा करिब ११ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्ध भ्याक्सिनको दुवै डोज लगाएका छन्। २९ प्रतिशतले पहिलो डोजमात्रै लगाएका छन्।

विज्ञहरुले ब्राजिलमा संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने बताउँदै आएका छन्। ब्राजिलियन हेल्थ रेगुलेटर एनभिसाका पूर्व प्रमुखले भ्याक्सिनको असर देखिनु अघि नै ७ देखि ८ लाख मानिसको मृत्यु हुन सक्ने बताएका छन्।

उनले नयाँ भेरियन्ट आउने क्रम जारी रहेको र भारतबाट देखिएको 'डेल्टा भेरियन्ट' ले पनि ब्राजिलमा संक्रमण फैलाउन सक्ने बताए। उनले बोलसोनारोले महामारी नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै आलोचना समेत गरेका छन्।

भ्याक्सिन खरिदका लागि ब्राजिल सरकारलाई फाइजरले प्रस्ताव गरेपनि बोलसोनारो सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन।

प्रदर्शनमा उत्रेकाहरुले बोलसोनारोले भ्याक्सिन खरिद गर्न कुनै पहल नगरेको र नागरिकहरुको लागि एक वर्षमा केही नगरेको बताएका छन्। उनीहरुले बोलसोनारो सरकार 'नरसंहार' उत्रेको भन्दै विरोध गरिरहेका छन्। २० वटा राज्यका विभिन्न ४४ शहरमा राष्ट्रपतिवरुद्ध प्रदर्शन भएको र उनीहरुले बोलसोनारोको राजीनामा माग्दै प्रदर्शन गरेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell