PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

झन्डै तीन महिनापछि खुकुलो पारियो कैलाली-कञ्चनपुरमा निषेधाज्ञा, पसल अब दिउँसो ३ बजेसम्म खोल्न पाइने



झन्डै तीन महिनापछि खुकुलो पारियो कैलाली-कञ्चनपुरमा निषेधाज्ञा, पसल अब दिउँसो ३ बजेसम्म खोल्न पाइने

कैलाली : कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलाली र कञ्चनपुरमा गत बैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा केही खुकुलो पारिएको छ। कैलालीमा सोमवार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले असार १५ गतेसम्म निषेधाज्ञा खुकुलो पारेर लम्ब्याउने निर्णय गरेको छ।

जिल्लाभर बिहान ११ बजेसम्म सञ्चालन हुँदै आएका पसलहरू अब दिउँसो ३ बजेसम्म खोल्न पाइने भएको छ। डीसीएमसीको बैठकले आजदेखि लागू हुने गरी अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

केही खुकुलो पार्दै असार १५ गतेसम्म निषेधाज्ञालाई भने निरन्तरता दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। निषेधाज्ञाको समयमा सार्वजनिक सवारी साधन बन्द रहनेछन्। निजी सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ। जोरबिजोर प्रणाली अन्तरगत नै ट्याक्सी र अटो बढीमा २ जना यात्रु राखेर सञ्चालन गर्न पाइनेछ।

सो अवधिमा अत्यावश्यक सवारी साधन, सरकारी, निजी तथा मालवाहकलगायतका सवारी साधन सञ्चालन गर्न पाइने छ। उद्योग, कलकारखानालगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ।

यस्तै, होटेल, रेस्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। यस्तै, अब सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ।

यस्तै, वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ।

उता कञ्चनपुरमा जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १४ गतेसम्म कायम राख्ने आदेश गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जारी गरेको आदेशमा निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सबै प्रकारका सवारी साधन बन्द रहने छन्।

अत्यावश्यक सेवाका पसल दैनिक बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell