PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनन्त वाग्लेको 'कदम' सार्वजनिक, उपन्यासमा राउटे समुदायको संघर्षको कथा



अनन्त वाग्लेको 'कदम' सार्वजनिक, उपन्यासमा राउटे समुदायको संघर्षको कथा

काठमाडौं : नेपालीको कर्णाली प्रदेशको दैलेख, सल्यान र सुर्खेत जिल्लामा एउटा समुदाय छ। जङ्गल उनीहरुको घर। ठाउँ सर्दै घुमन्ते जीवन बिताउने जातिका रुपमा चिनिन्छन् उनीहरु। यो समुदायलाई 'जंगलका राजा' भनेर समेत चिनिन्छ। त्यही समुदायको युवाको संघर्षको कथा उनिएको उपन्यास 'कदम' हालै सार्वजनिक भएको छ।

सीमान्त्कृत जाति राउटे समुदायमाथि लेखिएको उपन्यास 'कदम' काठमाडौँ पब्लिकेसन प्रालिले बजारमा ल्याएको हो। बाल साहित्य तथा किशोर साहित्यका पुस्तक प्रकाशन गर्दै आइरहेको यस संस्थाले पहिलो पटक मूल प्रवाहको उपन्यास बजारमा ल्याएको हो।

राउटे समुदायमा गएर स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैलीलाई नजिकबाट नियालेर उपन्यास तयार पारेको लेखक वाग्लेले जानकारी दिए।

´फरक विषयवस्तु र भुईमान्छेको कथालाई कदमले समेटेको छ। यो उपन्यासले राउटे जातिको सम्पूर्ण पक्षलाई प्रतिधित्व गरेको छ,´ लेखक वाग्लेले भने।

राउटे समुदायलाई एसियाकै अन्तिम फिरन्ता जाती भनेर पनि चिनिन्छ। राउटे समुदायका बारेमा गैरआख्यान पुस्तक प्रकाशित भए पनि आख्यानका रूपमा सम्भवतः यो पहिलो प्रयास भएको लेखक वाग्लेले दावी गरे। ३ सय १६ पृष्ठको कदमको मूल्य ४ सय रुपैयाँ रहेको छ।

 ५० भन्दा बढी बाल तथा किशोर साहित्यका पुस्तक सिर्जना गरिसकेका वाग्ले पुस्तक सम्पादनमा पनि सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell