PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विप्लव माओवादीका नेता हेमन्तप्रकाश वली साधारण तारेखमा रिहा



विप्लव माओवादीका नेता हेमन्तप्रकाश वली साधारण तारेखमा रिहा

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली 'सुदर्शन' साधारण तारेखमा रिहा भएका छन्।

सर्वोच्च अदालतले बिहीवार उच्च अदालत पाटनको पुर्पक्षका लागि थुनामै राख्नुपर्ने आदेश बदर गर्दै वलीलाई रिहा गर्ने आदेश दिएको हो।

वलीलाई हात हतियार तथा खरखजाना विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध सम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतले २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। स्वास्थ्यको कारण देखाउँदै वलीले त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। तर त्यसलाई बेरीतको नदेखिएको भन्दै उच्च अदालत पाटनले माघ १६ मा जिल्लाकै आदेशलाई सदर गरेको थियो।

त्यसविरुद्ध वलीका कानुन व्यवसायीले स्वास्थ्य अवस्था बिग्रिएको, मुटुको उपचारको लागि शहीद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा भर्ना भई उपचाररत भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम रिहाईको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उच्च अदालत पाटनको आदेश बदर गर्दै वलीलाई साधारण तारेखमा मुद्दा पुर्पक्षका लागि रिहा गर्ने आदेश दिएको हो।

‘उच्च अदालत पाटनको बेरीतको नदेखिई सदर गरेको व्यहोरा हालको निजको स्वास्थ्यको कारण जीवन रक्षार्थ मानवीय दृष्टिकोणले वेमनासिव भई बेरीतको देखिँदा बदर गरिदिएको छ,’ आदेशमा भनिएको छ, ‘अब निवेदक वलीको हकमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भएबमोजिम हुनेगरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell