PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

समाजको विभेद हटाउन छात्राहरुलाई साइकल बाँडिएको हो : मुख्यमन्त्री राउत



समाजको विभेद हटाउन छात्राहरुलाई साइकल बाँडिएको हो : मुख्यमन्त्री राउत

वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा भएको सामाजिक विभेदलाई चिर्न ‘मुख्यमन्त्री बेटी पढऔँ, बेटी बचाऔँ’ अभियान अन्तर्गत छात्रालाई साइकल बाँड्ने योजना अघि बढेको बताएका छन्। वीरगंजमा तीन वटा सरकारी विद्यालयका कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गर्न वीरगंजमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

समाजमा महिला र पुरुषबीच विद्यमान सबैखाले भेदभाव हट्नु पर्नेमा उनले जोड दिए। त्यसैको एउटा सानो प्रयासको रुपमा छात्राहरुलाई साइकल बाँड्नु रहेको उनले बताए।

वीरगंजको गणेशमान चोकस्थित सुन्दरमल रामकुमार कन्या मावि, त्रिभुवन हनुमान मावि र माईस्थान विद्यापीठमा कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल तथा छात्रवृत्ति वितरण समारोहमा राउतले प्रदेश नम्बर २ सहित देशभर भेदभाव रहेकाले यसलाई हटाउनुपर्नेमा जोड दिए।

‘साइकल वितरणमा प्रदेश सरकारले अनियमितता गर्‍यो भनेर पनि कुरा उठ्छ’, उनले भने, ‘तर, एउटा साइकलले छात्राको पढाई र सोचमा कतिको सकारात्मक असर पार्छ, त्यसबारे कसैले लेख्दैनन्।’

उनले विश्वका समृद्ध देशमा हाम्रो देशझैँ भेदभाव नभएको दाबी गरे। उनले लैङ्गिक, जातीय, छुवाछुतजस्ता भेदभाव समाजमा अहिले पनि विद्यमान भएको र यसलाई सबैले मिलेर हटाउनुपर्ने सुझाव दिए।

मुख्यमन्त्री राउतले छोरा र छोरीबीचको भेदभाव झन् विकराल अवस्थामा रहेको बताए। उनले छोरालाई राम्रो र महँगो शिक्षा दिने तर छोरीलाई सोही स्तरको शिक्षाबाट बञ्चित गराइएको आरोप लगाए।

उनले प्रदेश सरकारले दलित सशक्तिकरणमा देशभरि फड्को मारेको दाबी गर्दै दलितहरूको लागि प्राविधिक शिक्षामा आर्थिक सहयोग गर्दै आएको बताए। दलितमाथि हुने सबैखाले भेदभावविरुद्ध प्रदेश सरकारले कडा कारबाही गर्ने कानुन बनाएको पनि उनले जानकारी गराए।

उनले आफू नरहे पनि आगामी कार्यकालमा आउने मुख्यमन्त्रीलाई प्रदेशमा सुशासन कायम गरी रोजगारीको वातावरण तथा प्रदेशको विकासको लागि सहज हुने विश्वास व्यक्त गरे।

वीरगंजको माईस्थान विद्यापीठका १२० जना, कन्या माविका ७२ जना र त्रिभुवन माविका ९८ जना छात्रालाई साइकल वितरण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell