PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतमा बेच्न लगिएका दुई चेलीको छौडादानोबाट उद्धार, दुई जना पक्राउ



भारतमा बेच्न लगिएका दुई चेलीको छौडादानोबाट उद्धार, दुई जना पक्राउ
पक्राउ परेका लक्ष्मी र खुश्बु।

वीरगंज : पर्सा प्रहरीले भारतमा बेच्न लगिएका दुई नेपाली चेलीको उद्धार गरेको छ। प्रहरीले झापाको विर्तामोड नगरपालिका-२ की १६ वर्षीया किशोरी र २० वर्षीया युवतीको उद्धार गरेको हो।

उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा भारतको बिहारस्थित मोतिहारी जिल्लाको छौडादानो शहरबाट उद्धार गरी वीरगंज ल्याइएको छ। माइती नेपालको सहयोगमा उद्धार गरिएकी ती दुई युवतीलाई हाल वीरगंजस्थित माइती नेपालकै शरणमा राखिएको छ।

वीरगंजबाट करिब ३० किलोमिटर पूर्व दक्षिणमा पर्ने छौडादानोमा भएको एक घरमा मोबाइल खोसेर उनीहरुलाई बन्धक बनाएर राखिएको थियो। भारतमा बेच्न लागेको पूर्व सूचनाको आधारमा माइती नेपालको सक्रियतामा पर्सा प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

साउन १२ गते दुई युवतीलाई उद्धार गरी वीरगंज ल्याएपछि उनीहरुलाई भारतमा बेच्ने गिरोहका दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्नेमा विर्तामोड-९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका-१२ की १९ वर्षीया खुश्बु विश्वकर्मा रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी गराएका छन्।

पक्राउ परेका दुई युवतीलाई मानव बेचविखन सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिने म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।

यसैबीच, बारा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा ओसारपसार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको निजगढ-१२ रामथलीका ६२ वर्षीय शेरबहादुर जिम्बा रहेका छन्।

उनलाई अस्थायी प्रहरी पोष्ठ रतनपुरीको टोलीले बुधवार बिहान साढे ७ बजे निजगढ-११ तामागढी सडकखण्डबाट पक्राउ गरेको बारा प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी गराए। उनले पिठ्यूँमा कालो रंगको झोला बोकेर हिँडडुल गरिरहेको अवस्थामा चेक गर्दा गाँजा बरामद भएपछि हिरासतमा लिइएको थियो। लागुऔषध सम्बन्धी कसुरमा उनीमाथि छानबिन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell