PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थुम्केलीको 'कलाकार जीवनवृत्त'



थुम्केलीको 'कलाकार जीवनवृत्त'

काठमाडौं : कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ प्रकाशित भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतवार कृतिको विमोचन गरे। उनले राजनीति, साहित्य लगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको बताए। कर्माचार्यले कलालेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई बर्षेनी प्रतिष्ठानले सम्मान गर्दै आएको जनाए। कुलपति कर्माचार्यले भने, ‘कलाकारका सिर्जनालाई दस्तावेजका रुपमा सग्रह गर्न प्रतिष्ठानले प्रयास गर्दै तथा पुस्तक प्रकाशन गर्दै आएको छ। आगामी दिनमा कला र कलाकारका बारेमा प्रतिष्ठानले यो कामलाई अझै व्यवस्थित ढंगले निरन्तरता दिँदै जानेछ।’ उनले नेपाली कला र कलाकारलाई देश विदेशमा चिनाउनका लागि पनि कलालेखन, समीक्षा तथा कला पत्रकारिताको महत्व विशिष्ट रहेको विचार व्यक्त गरे।

विमोचन कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सक्यो त्यो कलाक्षेत्रकै लागि महत्वपूर्ण हुने धारणा राखे। उनले प्रतिष्ठानले कलालेखन तथा अनुसन्धानका कामलाई महत्व दिएको बताए। सदस्य सचिव घिमिरेले लेखकलाई कलाकारको जीवनी लेखेर प्रकाशनमा ल्याएकोमा बधाई तथा शुभकामना दिँदै अन्य कलाकारका बारेमा समेत निरन्तर लेखिरहन आग्रह गरे।

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले ओझेलमा परेको थाङ्का र पौभा कला र कलाकारका बारेमा पुस्तक आउनु सराहनीय कार्य भएको बताए। उनले प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकारका बारेमा अझ खोज र अनुसन्धान गराई लुकेर रहेका प्रतिभाशाली कलाकारको दस्तावेजीकरणसँगै योगदानको उचित मूल्यांकन गर्नुपर्ने विचार व्यक्त गरे। खनालले भने, ‘पुस्तकमा लेखकले जीवनी लेखनमा नयाँ प्रयोग गरेका छन्। समष्टिमा पुस्तक नेपाली थाङ्का र पौभा कलाकारको दस्तावेजको शुरुवात भएको र शृंखलाबद्ध रुपमा अन्य कलाकारको जीवनी लेख्न र प्रकाशन गर्न लेखक र प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा काम गर्नुपर्दछ। तब मात्र नेपाली परम्परागत कलाको विकासमा योगदान रहन जान्छ।’

समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला इतिहासलाई व्यवस्थित ढंगले लेख्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे। उनले प्रमाणिक रुपमा नेपालमा १ हजार वर्षभन्दा पुरानो चित्रकलाको परम्परा रहेको जनाउँदै कलाको सही र व्यवस्थित ढंगले दस्तावेजीकरण नहुँदा सयौं अज्ञात कलाकारको योगदानलाई सम्झन नसकिएको बताए। उक्त कृतिमा २०१४ साल र २०३६ साल बीचमा जन्मिएका कलाकारलाई लेखकले राम्रै मिहिनेतका साथ चित्रण गरेको विचार व्यक्त गरे। समालोचक अधिकारीले भने, ‘अबको काम भनेको अग्रज र युवापुस्तामा कलाको योगदान र संघर्षलाई एकेडेमीले अझ बढी समावेश गराउँदै जानुपर्दछ।’ उनले अझ परम्परागत र लोककला सिर्जना गर्ने कलाकारको बढीभन्दा बढी खोजी हुनुपर्नेमा जोड दिए।

प्रतिष्ठानका परम्परागत तथा शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङले नेपाली परम्परागत कलाकारका बारेमा कमैमात्र अनुसन्धान र खोज भइरहेको जिकिर गर्दै यसको विकास, प्रसार प्रसार, प्रवद्र्धन तथा संवद्र्धनमा प्रतिष्ठानले काम गर्दै आएको बताए। उनले नेपाली परम्परागत कलाको व्यापक प्रचार प्रसारका लागि प्रतिष्ठानले देशैभरि विभिन्न कार्यशाला र प्रदर्शनीको आयोजना गर्दै आएको धारणा राखे। प्राज्ञ गुरुङले आगामी दिनमा परम्परागत कलाक्षेत्रका मूर्धन्य कलाकारलाई खोजेर उनीहरुको योगदानलाई प्रकाशनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

पुस्तक लेखनका क्रममा कोरोना महामारीका कारण निकै कठिनाइको सामना गर्नुपरेको सुनाउँदै पुस्तकका लेखक थुम्केलीले आगामी दिनमा छुटेका र प्रतिभाशाली कलाकारलाई बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे। विमोचित पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो। १७२ पृष्ठको उक्त पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनीलाई समेटिएको छ। कलाकार मानबहादुर दोङ, वाङ्छु मोक्तान लामा ‘आरके’, लालमान लामा, निमा लामा, भीमबहादुर लामा, होमबहादुर लामा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, फूर्नाम्गेल मोक्तान, झिग्मे तामाङ ‘मुगुम झिग्मे’, अशोक लामा र पाल्साङ्मो लामाको जीवनी, कलागत प्रवृत्ति तथा कृतित्वको चर्चा गरिएको छ। पुस्तकमा कलाकारको जीवनीसँगै कलाकारका रंगीन चित्रसमेत समावेश गरिएको छ। पुस्तकको मुल्य ३०० रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell