PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भोलि हुने राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटसलको उद्घाटन खेलमा धरान र काठमाडौं भिड्ने



भोलि हुने राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटसलको उद्घाटन खेलमा धरान र काठमाडौं भिड्ने

पोखरा : असोज २ गते देखि २२ गतेसम्म पोखरा रंगशालामा हुने ‘एन्फा राष्ट्रिय ए डिभिजन लिग फुटसल’को सम्पूर्ण तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको फुटसल कमिटीले जानकारी दिएको हो।

२० दिन चल्ने प्रतियोगितामा कुल १० टिम सहभागी हुँदैछन् भने ४९ खेल हुनेछ। प्रदेश १ बाट २ टिम, वाग्मती प्रदेशबाट ४ टिम, गण्डकी प्रदेशबाट २ टिम, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट २ टिम गरी कुल १० टिमको सहभागिता रहने छ।

एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङका अनुसार डिभिजन लिगका लागि १ करोड १८ लाख खर्च विनियोजित भएको छ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ।

लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही समान नगद २५ हजार रुपैयाँ पाउने छन् भने म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। एन्फाले प्रतियोगिता आयोजना हुने पोखरा रंगशालाको कर्भड हललाई प्रतिदिन ९ हजार ५ सय रुपैयाँको दरले शुल्क दिनेछ।

यस्तै, भोलि हुने उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स, काठमाडौं भिड्ने छन्। दोश्रो खेल गण्डकी प्रदेशको स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लब खेल्ने छ।

खोप लगाएकाले मात्र फुटसल लिग हेर्न पाउने

कमिटीले कोरोना महामारीलाई मध्यनजर गर्दै सीमित संख्यामा दर्शक भित्र्याउने भएको छ। लिगमा खोप लगाएका दर्शकले मात्र प्रवेश गर्न पाउने छन्।

सीमित संख्यासहित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दर्शकहरुले खेल हेर्न पाउने फुटबल संघका फुटसल विभाग प्रमुख विनोद गुरुङ बताउँछन्। कभर्ड हल प्रवेशका लागि दर्शकले अनिवार्य खोप लगाएको कार्ड वा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट साथमा लैजानु पर्नेछ।

कमिटीले दर्शकका लागि प्रवेश शुल्क २ सय रुपैयाँ निर्धारण गरेको छ। उक्त निर्धारित दर फाइनल खेलमा पनि कायम हुनेछ।

गण्डकी प्रदेशबाट सविन मेमोरियल र स्पोर्ट्स क्यासलको सहभागिता

प्रतियोगितामा गण्डकी प्रदेशबाट दुई टिम सहभागी हुँदै छन्- सविन मेमोरियल र स्पोर्ट्स क्यासल। प्रदेशबाट सहभागी टिम सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगितामा होम ग्राउन्ड भनेर घमण्ड नगर्ने बताए।

‘हामी होम ग्राउण्ड भनेर घमण्ड गर्दैनौँ मैदानमा खेलाडीले 'इन्टेनसिटी' कभर गरेन भने जुनसुकै बेला पनि नतिजा पल्टिन सक्छ,’ उनले भने।

अर्को सहभागी टिम पोखरा स्पोर्ट्स क्यासलले पनि प्रतियोगितामा घरेलु मैदानको घमण्ड नगरी उर्जाका साथ खेल्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell