PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गृहमन्त्रीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता, अर्को बैठकमा सहमति कार्यान्वयन टुंग्याउने गरी दुवै पक्षले गृहकार्य गर्ने



गृहमन्त्रीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता, अर्को बैठकमा सहमति कार्यान्वयन टुंग्याउने गरी दुवै पक्षले गृहकार्य गर्ने

काठमाडौं : सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ। गृहमन्त्री बालकृष्ण खाणको पहलमा मंगलवार गृह मन्त्रालयमा वार्ता भएको हो।

वार्तामा मुख्यगरी दुई विषयमा छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिसमेतका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्।

‘तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउन र बन्दीहरूलाई रिहा गर्न सकिन्छ, त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने निष्कर्ष निस्किएको छ,’ पाण्डेले भने।

वार्तामा नेपाल सरकारको तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री सहभागी थिए। नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए।

वार्तापछि नेकपाका प्रवक्ता विश्वकर्माले वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी दिए।

‘वार्ता सकारात्मक रूपमा अघि बढेको छ। यसअघि सरकार र पार्टीको वार्ता टोलीबीच भएको सहमतिलाई टुंग्याउन सरकार र विषेशगरी गृहमन्त्रीले पहल कदमी लिइरहनु भएको छ, त्यो सराहनीय छ,’ विश्वकर्माले भने, ‘आन्तरिक रूपमा दुवै पक्षले सहमति गरेर अर्को बैठकमा टुंग्याउने गरी उठेका छौँ। सरकारले गर्नु पर्ने काम केही धेरै छन्। हामीले गर्ने काम पनि छन्। दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुंगिने आशा गरौँ।’

गृहमन्त्री खाणले आइतवार नेपाल कम्युनिस्ट पार्टीसँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खाती र गृहसचिव पाण्डेसँग छलफल गरेका थिए। गृहमन्त्री खाणको पहलमा अन्य तयारी गरेर आज पुनः नेपाल कम्युनिस्ट पार्टीसँग बैठक बसेको हो। सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो।

२०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालिन गृहमन्त्री रामबहादुर थापा र सदस्य तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई तथा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र पार्टी केन्द्रीय समिति सदस्य दीपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले वर्तमान सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, गृहमन्त्री खाणसहितलाई भेटेर अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell