PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आज तमु ल्होसार : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त



आज तमु ल्होसार : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

काठमाडौं : गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति भण्डारीले तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन्।    
    
आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।    
'मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ', सन्देशमा भनिएको छ।    
    
राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरेकी छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।    
    
यस अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति पुनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए।    
    
गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु (गुरुङ) समुदायले आज यस वर्षको ल्होसार मनाउँदै छन्।

प्रधानमन्त्री देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।    
    
प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ।    
    
 'नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्', सन्देशमा भनिएको छ, 'यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो।'    
    
प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गरेका छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बताएका छन्।    
    
अध्यक्ष तिमिल्सिनाले आज शुभकामना जारी गर्दै तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताए।    

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ÷समुदाय विशेषअनुसार फरकफरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन् जुन हाम्रो पहिचान पनि भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell