PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बैंककै कर्मचारीको संलग्नतामा एनआईसी एशिया बैंकको रकम लुटपाट



बैंककै कर्मचारीको संलग्नतामा एनआईसी एशिया बैंकको रकम लुटपाट

काठमाडौं : बैंककै कर्मचारीको संलग्नतामा एनआईसी एशिया बैंकको रकम लुटपाट भएको खुलेको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले बैंकका कर्मचारीसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

गत पुष १८ गते अपराह्न करिब ४ बजे एनआईसी एशिया बैंकको बानेश्‍वर शाखामा नगद कलेक्टर पदमा कार्यरत कागेश्‍वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने २७ वर्षीय प्रदीप खत्रीले बैंकको १६ लाख भन्दा बढी रकम लुटपाट भएको जानकारी शाखालाई दिएका थिए। खत्रीले काठमाडौं वडा नम्बर १० को वडा कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्स्युरेन्स शान्तिनगरबाट तीन लाख ८५ हजार ४२४ गरी कुल १६ लाख तीस हजार ४२४ रुपैयाँ बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना बैंकको बानेश्‍वर शाखामा कार्यरत सुरक्षा अधिकृतलाई दिएका थिए।

सुरक्षा अधिकृतले महानगरीय प्रहरी बृत्त नयाँबानेश्‍वरमा सूचना दिएपश्‍चात नयाँबानेश्‍वर बृत्त र अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले अनुसन्धान कार्य अगाडि बढाएको थियो। सो क्रममा प्रहरीले खत्रीउपर शंका लागी उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा नगद र सो कार्यमा प्रयोग गरिएको सवारी साधनसहित थप तीन जनालाई पनि नियन्त्रणमा लिएको छ।

मुख्य योजनाकार खत्रीलाई सो लुटपाट कार्यमा सिन्धुपाल्चोक गढी नगरपालिका-६ साँगा चोक घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय बिमल तामाङ, रामेछापको रामेछाप नगरपालिका-२ देउराली घर भई ललितपुर ढोलाहिटी प्रगति मार्ग बस्ने २४ वर्षीय शक्ति राज पौडेल र देउराली नै घर भई हाल भक्तपुरको दधिकोट बस्ने २७ वर्षीय अनिश खड्काले सहयोग गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुबाट १३ लाख ४६ हजार नगद बरामद गरेको छ भने बाँकी दुई लाख ८४ हजार ४२४ रुपैयाँ उनीहरुले खर्च गरिसकेको प्रहरीले जानकारी दिएको छ। उनीहरुमाथि महानगरीय प्रहरी बृत्त नयाँबानेश्‍वरबाट थप अनुसन्धान भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell