PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पर्सामा पछिल्लो तीन दिनमा तीन जनाको हत्या



पर्सामा पछिल्लो तीन दिनमा तीन जनाको हत्या

वीरगंज : पर्सामा पछिल्लो तीन दिनमा तीन वटा शव फेला परेको छ। एक जना भारतीय नागरिक र दुई जना बालबालिका गरी तीन दिनमा तीन जना मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ।

गत बिहीवार साँझ ४ बजे भारतको कोलकात्ता घरभई वीरगंजमा इरिक्सा चलाउँदै आएका ४८ वर्षीय मुख्तार मियाँको शव वयोधा अस्पताल गण्डकको पछाडिको नहरी (पैनी)मा फेला परेको थियो। उनी बुधवार साँझ ६ बजेदेखि बेपत्ता थिए। उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

शुक्रवार दिउँसो पर्साको पश्चिमी भेग जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठी गाउँमा १२ वर्षीय बालकको शव फेला परेको थियो। घाँटीमा गम्छा बेरिएको अवस्थामा सन्ठी गाउँ नजिकैको उखुबारीमा स्थानीय नागेश्वर पटेलका छोरा मन्टु पटेलको शव फेला परेको परिवारजनले सनाखत गरेका छन्।

उनी बिहीवार रातिदेखि बेपत्ता थिए। उनको पनि हत्या नै गरिएको पर्सा प्रहरीको आशंका छ।

त्यसैगरी, शनिवार दिउँसो पनि एक जना बालिकाको वीरगंजबाट शव बरामद भएको छ। वीरगंज-१५ भिस्वामा बुवाआमासँगै डेरामा बस्दै आएकी ९ वर्षीया रिजवाना खातनुको शव वीरगंज-१६ नगवास्थित रेल्वेरोड नजिकै निर्माणाधीन घर नजिक फेला परेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

‘तीन वटै घटना शंकास्पद देखिएको छ’, उनले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा योजना बनाएर नै तीन वटै हत्या भएको हुन सक्ने देखिएको छ। अनुसन्धान सकिएपछि थप कुरा खुल्नेछ।’

उनले सबै शवहरु नारायणी अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको बताउँदै तीन वटै घटनामा संलग्न भएको आशंकामा आफन्तजन तथा अन्य गरी १२ जनालाई निगरानीमा राखी सोधपुछ भइरहेको बताए।

पर्सामा चालु आर्थिक वर्षको पछिल्लो ५ महिनामा हत्याको घटना शून्य रहेकोमा एक सातामै तीन वटा हत्याको घटनाले पर्सा प्रहरीको लागि जिल्लामा शान्ति सुरक्षा कायममा चुनौती थपिएको छ। पर्सामा दिनदिनै शव बरामद हुन थालेपछि आपराधिक गतिविधि बढ्ने आशंकाले जिल्लावासी त्रसित बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell