PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिन्धुपाल्चोकमा तामाङ समुदायको माघे संक्रान्ति : 'फ्या फुल्बा'देखि 'छो फूल्बा'सम्म



सिन्धुपाल्चोकमा तामाङ समुदायको माघे संक्रान्ति : 'फ्या फुल्बा'देखि 'छो फूल्बा'सम्म
मेलम्ची वडा ६ स्थित तालामाराङमा छो फुल्बा हुँदै। फोटो : पूर्णी तामाङ

  • फूलमान तामाङ-

नवलपुर : माघे संक्रान्तिको रौनक सिन्धुपाल्चोकको तामाङ गाउँवस्तीमा पनि देखिएको छ। कोभिड-१९ संक्रमणका कारण विभिन्न मेला नभए पनि घरघरमै तामाङ समुदायले संक्रान्ति मनाउन शुरु गरेका छन्।

यस अवसरमा बिहानैबाट मान्यजनलाई ढोग्ने र आशीर्वाद लिन शुरु भएको छ।

यहाँका तामाङ समुदायले माघ महिनाको पहिलो दिनलाई 'ल्हो फेर्ने' अर्थात नयाँ वर्षका रुपमासमेत मनाउने गरेका छन्।

यही अवसरमा गाउँ गाउँमा आफूभन्दा अग्रज, आमा बुबालगायत नातामा ठूलो पर्नेलाई घुँडा टेकेर ढोग्नुका साथै आशीर्वाद लिने गर्छन्। ठूलाले सानालाई उपहार र माया बाँड्छन्।

जिल्लाको इन्द्रावती गाउँपालिका वडा ४ मा पनि बिहानैबाट बालबालिकादेखि युवाहरु अग्रजलाई ढोग्ने र आशीर्वाद लिने क्रम जारी छ।

माघे संक्रान्तिमा यस्तो चलन पूर्खादेखि चलिआएको ८७ वर्षे रामे तामाङ बताउँछन्। भने, 'बिहान नुहाइधुवाइ गरेर हातमा फुलपाती लिएर ढोग्न हिँड्ने चलन छ।'

आफूले टिपेको फुलपाती सिउरेर अग्रजलाई कानमा लगाइदिएर ढोग्ने गरिन्छ। यसपछि भने घरमै पकाइएका तरुल, पिँडालु, आलु, सखरखण्ड, फापरको रोटी ,गहतलगायत का खानेकुरा खएर ठुलाबडाको आशीर्वाद थाप्ने चलन छ।'

तामाङहरुको वर्ष माघदेखि फेरिने र तामाङ समुदायको नयाँ वर्ष माघ महिना भएकोले माघ १ गते नै ढोग्ने चलन रहेको गाउँका चोहो अर्थात मुखिया सूर्य तामाङले बताए। आजबाट गोरु वर्ग सकिएर बाघ वर्ग सुरु भएको छ। अबको एक वर्षलाई यहाँका तामाङ समुदायले बाघ वर्गका रुपमा लिन्छन्।  

रामे तामाङका अनुसार यो पूर्खादेखि नै चलिआएको रित हो। यसरी ढोग भेट गर्नु तामाङहरुको नयाँ वर्षलाई स्वागत गर्नु पनि भएको चोहो तामाङले बताए। मूल झाक्री न्याउरे तामाङ पनि परम्पराअनुसार नै माघ १ गते नयाँ वर्षको रुपमा मनाउने गरेको बताउँछन्।

यही दिनबाट यहाँका तामाङ समुदाय दिवंगत पूर्खाप्रति श्रद्धाञ्जली अर्पण गर्ने 'छो फूल्बा' गर्ने गर्छन्। गाउँगाउँमा अहिले लामाहरु छो फूल्बाका लागि भेला भएका छन्। उनीहरुले म्हाने(स्तुप)लगायत आफ्नै घरमा दिवंगतको थाङ्का राखेर छो फुल्ब गर्ने चलन पनि रहेको छ। यता मेलम्ची नगरपालिका वडा ६ स्थित तालामारङका तामाङ गाउँबस्तीमा हिजैबाट छो फूल्बा शुरु भएको छ।

एकजना लामाले ३ वा ५ घरको पूर्खाको सामुहिक रुपमा श्रद्धाञ्जली अर्पण गर्ने र प्रसाद खाने गरिन्छ। छो फूल्बा माघ महिनाभर चल्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell