PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रेम कविता : यो रातमा तपाईंलाई सम्झिएर



प्रेम कविता : यो रातमा तपाईंलाई सम्झिएर

विमला तुम्खेवा

थाहा छ सोल्टी?
सप्पैसप्पै स्मृतिहरु सम्झिल्याउँदा
हाम्रो अधुरो मायालाई सम्झेँ
र,
हजुरकै सम्झनामा बिताएँ यो रात।

रुखबाट झरेर खोलामा बग्दैबग्दै गएको यो पात
कहाँ पुग्छ होला?
माथिमाथि उडिरहेको बादलको अस्तित्व
कहाँ पुगेर समाप्त हुन्छ होला?
जीवन पनि यो खोलामा बगेर गएको पातजस्तै रहेछ।

बूढापाकाले
'माया ओरालोमात्र बग्छ' भनेजस्तै
तपाईं प्रतिको मेरो माया
र,
यो सकिन लागेको जोभान कस्तो विपरीत?

यो जुनीमा हाम्रो माया
यो जुनीमा हाम्रो सम्झना
उकालैउकालो माथि देउरालीमा बसिरहेको
युमाथेवाको सालिकजस्तो
बाँचिरहनेछ अजर अम्बर।

सोल्टीसा'ब!
बैंस पनि सकिजाने पैसाजस्तै रहेछ
आउँछु पनि नभनी तपाईंको सम्झना आयो
त्यही सम्झनामा अल्झिएर
रात छर्लङ्गै पारेँ अनिँदो बसेर
कस्सम,
हजुरकै सम्झनामा रात बिताएँ।

(सांग्रिला बुक्सद्वारा प्रकाशित तुम्खेवाको कवितासंग्रह 'हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे'बाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell