PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जनकपुर साहित्य महोत्सवमा विभेदबारे छलफल : ‘नियत परिवर्तन नहुँदा समाजमा विभेद कायमै’



जनकपुर साहित्य महोत्सवमा विभेदबारे छलफल : ‘नियत परिवर्तन नहुँदा समाजमा विभेद कायमै’

जनकपुरधाम : जनकपुर साहित्य महोत्सवको दोस्रो दिन आजको पहिलो सत्रमा ‘समाजमा विभेद’ विषयमा छलफल भएको छ। जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा दलित अगुवा र यौनिक तथा अल्पसंख्यक व्यत्तिहरुबिच सामाजिक विभेदको बारेमा छलफल भएको हो।

छलफलमा सहभागी वक्ताहरुले नियत परिर्वतन नहुँदा समाजमा विभेद अझै कायम रहेको औँल्याएका छन्। सर्लाहीका दलित अगुवा हरिनन्दन अम्बेडकरले जिम्मेवार व्यत्तिका कारण समाजमा अझै विभेद कायम रहेको आरोप लगाए।

समाजको मनोविज्ञान परिर्वतन नहुँदा दलित विभेदमा पर्ने गरेको उनको कथन रहेको थियो। शासक जिम्मेवार नहुँदा जात व्यवस्था अन्त्य नभएको उनको विश्लेषण छ।

अम्बेडकरले भने, ‘जात कुनै कार्यालयले निर्धारण गर्दैनन्, मान्छेले निर्धारण गरेको छ। जसलाई जात व्यवस्थाले फाइदा भएको छ, उनीहरुले जवर्जस्ती लादेर दिएको यो व्यवस्था छ।’

‘समाजले दबाएको वर्गलाई स्वीकार नगर्दा समस्या’

सुदूरपश्चिमका पुष्पा लामाले समाजले दबाएको वर्गलाई स्वीकार नगर्दा समस्या देखिएको बताए।

‘भोज भतेर वा विवाहको बेला यौनिक तथा अल्पसंख्यक समुदायलाई मात्र बोलाउँछ’, लामाले भने, ‘तर, हाम्रो आशीर्वाद चाहिने मान्छेले हामीलाई स्वीकार गर्न सक्दैनन्। हामीसँग घुलमिल पनि हुन चाहदैनन्।’

यो अवस्था आउनुमा राज्य बढी दोषी भएको उनको गुनासो छ।

‘समाज कहाँबाट कहाँ पुगिसक्यो तर अझै हामी नागरिकतामा अड्किएका छौँ। नागरिकता लिन जाँदा डाक्टरको प्रमाण पत्र माग्छ। जबकी अरु कुनै वर्गलाई त्यो नियम लागू छैन।’

कर्णालीकी सन्ता विकले दलित महिलाले मुख्यतः तीन प्रकारको पीडा सहनु परेको बताइन्। निर्णायक भूमिकामा दलित समुदाय पुगेमात्रै जात व्यवस्था अन्त्य हुने उनको बुझाइ छ।

दलित र महिलाको नाममा सत्तामा पुगेका नेता वा दलले आफ्नो स्वार्थ मात्र पूरा गरेको उनको आरोप थियो।

‘दलितले पुर्जा गराउन सक्दैनन् भनेर कहाँ लेखिएको छ भन्नुस् त?’ उनले भने, ‘यस्तो समान्य विभेद त हाम्रो नेताले हटाउन सकेनन्। कागजमा हटाए पनि समाजमा हटाउन सकेनन्।’

वीरगंजका यौनिक तथा अल्पसंख्यक शैलु चौधरीले समाजको विद्यमान संरचनाका कारण यस प्रकारको समस्या आएको टिप्पणी गरे।

‘हाम्रो समाजको सोचसँगै संरचना नै गलत छ’, उनले भने, ‘विद्यालयमा सेक्स र जेन्डर पढाइ नै हुँदैन। शिक्षकले घरमा पढ्नु महत्त्वपूर्ण छैन भन्छन्।’

व्यवहार परिर्वतन नहुँदा कोही आलिशान त कोही सकसपूर्ण जीवन बिताउन बाध्य हुने गरेको उनले उल्लेख गरे।

विभदेको मुख्य कारण आर्थिक अभाव रहेको भन्दै वक्ताहरुले आर्थिक उपार्जनमा सहयोग गर्नु पर्ने सुझाए। यौनिक तथा अल्पसंख्यकलाई परिवारले स्वीकार नगर्दा यौन पेशामा संलग्न हुने गरेको उनीहरुको निष्कर्ष थियो।

बराबरको अधिकार दिए यस्ता समास्या समाधान हुन सक्ने उनीहरुको विश्वास छ। यौनिक तथा अल्पसंख्यक समुदायलाई पैतृक सम्पतिमा हक लाग्ने व्यवस्था सरकारले गर्नु पर्ने उनीहरुको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell