PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

श्रेष्ठको 'यात्रा प्रेतात्मासँग' लोकार्पित



श्रेष्ठको 'यात्रा प्रेतात्मासँग' लोकार्पित

काठमाडौं : रत्नकुमार श्रेष्ठद्वारा लिखित पुस्तक 'यात्रा प्रेतात्मासँग' लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा जगमान गुरुङ, साहित्यकार प्रमोद प्रधानलगायतले कृति लोकार्पण गरेका हुन्।

रत्न पुस्तक भण्डारले प्रकाशित गरेको उक्त पुस्तक शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको हो। पुस्तक प्रेतसँगको साक्षात्कार र कुराकानीसँग सम्बन्धित छ। २०४० देखि २०५० सालका बीचमा लेखक आफैं सम्बन्धित भएका प्रेतसँगका चार घटनाको यथार्थ प्रस्तुति नै पुस्तकको विषय हो।

कार्यक्रममा उपकुलपति डा जगमान गुरुङले नेपाली साहित्यमा यस प्रकारका पुस्तकहरू नभएको बताउँदै मानिसले भोगेका यस प्रकारका घटनासँग सम्बन्धित यो पुस्तकले नेपाली साहित्यमा नयाँ विषयको प्रवेश भएको धारणा राखे। 'भूतप्रेत, बोक्सी, धामीझाँक्री, तन्त्रमन्त्र सबै हुन्छन्। यसलाई गफमात्रै हो भनेर छाड्नु हुँदैन। शोधखोज गर्नुपर्छ,' गुरुङले भने। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सधैँ हनुमानको सानो मूर्ति बोकेर हिँड्ने गरेको चर्चा गर्दै उनले हामीले चाहिँ आफ्नो धर्म, संस्कृति, रीतिथिति, प्रचलनलाई बेवास्ता गर्दै र बिर्संदै गएकोमा चिन्ता व्यक्त गरे।

वरिष्ठ साहित्यकार तथा समालोचक प्रमोद प्रधानले आख्यानात्मक शैलीमा लेखिएको यात्रा प्रेतात्मासँगको पुस्तक विषय, शैली र भाषा सबै दृष्टिकोणबाट रोचक र पठनीय भएको बताए।

समीक्षक प्रभा बरालले मनमा हुने डर र बहमले भूतप्रेत देखिने गरेको विचार राखिन्।

लेखक रत्नकुमार श्रेष्ठले आफूले देखेको भोगेको यथार्थलाई जस्ताको त्यस्तै प्रस्तुत गरेको दाबी गरे। 'मैले पात्रहरूको नाममात्र परिवर्तन गरेको छु, अरू सबै यथार्थ हुन्,' श्रेष्ठले भने।

सामयिक व्यवस्थापन सेवा केन्द्रका अध्यक्ष रामबाबु नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रका प्रबन्ध निर्देशक ध्रुव नेपालले स्वागत मन्तव्य थिए। २१६ पृष्ठ रहेको पुस्तकको मूल्य ३५० रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell