PahiloPost

Nov 14, 2024 | २९ कात्तिक २०८१

ओलीको सपना


रविन्द्र अधिकारी/पहिलोपोस्ट

ओलीको सपना
  • रविन्द्र अधिकारी -
सपना देख्न सबैलाई छुट छ र संसारका कुनै पनि विकसित देश बिना सपना त्यतिकै समृद्ध भएका हैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीको डिफेन्समा आउने यो तर्क उचित नै हो। तर के सबै सपना अरुलाई बाँड्नु पर्छ? देखेका सबै सपना पूरा हुँदैनन् भन्ने कुरा सबलाई थाहा छ भने किन सुनाउँदै हिंड्नु? जिम्मेवार व्यक्तिले सपना देखेर बस्ने हैन योजना ल्याउने, खाका प्रस्तुत गर्ने, युद्ध स्तरमा कार्यन्वयन गर्ने अनि अन्त्यमा आएर भन्ने ‘मैले यो सपना यति अघि यसरी देखेको थिएँ, आज आएर साकार भयो’ भन्नुपर्ने हो। 

सपनाको बहुत काइदा मध्ये एक हो- सपना देख्न पैसा पर्दैन। तसर्थ सित्तैमा देख्न पाइने सपनामा किन कन्जुस्याइँ ? पानीजहाज मात्र किन? देखिसकेपछि ठूलै सपना देखौ- अन्तरिक्षमा नेपाल स्पेस स्टेसन बनाउँ , पम्प्किन कि जस्ता पचासौँ लग्जरी टापु किनौ, हिमालमा यार्सागुम्बाको व्यवसायिक खेती सुरु गरी विश्वका सबै देशमा प्याकिङ र सप्लाइका कम्पनी खोलौँ, सामुद्रिक न्याभी नै खडा गरौ, आदि आदि।

आशावादी हुनुपर्छ, देश बनेको हेर्न कसलाई मन छैन? खुट्टा टेक्ने ठाउको धरातल हेर्योव भने कहालीलाग्दो छ। अझ चन्द्र छुने कल्पनाले मान्छे कहिलेसम्म बाँच्न सक्ला? के सम्भव छैन त? प्रधानमन्त्रीले बोलेका सब कुरा सम्भव छन् तर कहिले सम्भव छन्? १० वर्ष, २० वर्ष, कति वर्ष? तोकेरै भनेको भए राम्रो हुन्थ्यो । भबिस्यको कुरा गरेर आखिर फाइदा पनि त छैन, अनि प्रधानमन्त्रीको जागिर कसैको बिर्ता पनि त हैन सँधैंभरी खाइरहनलाई।

ओलीले कठिन घडीमा प्रधानमन्त्रीको कुर्सीमा बसी थुप्रै चुनौतिहरु खेप्नु पर्यो। भारतसँग पन्जा लडाईंमा जितेर मधेसी आन्दोलनलाई समेत तुहाउन उनी सफल भए। भारतको इच्छा विपरीत धेरै निर्णय लिई चीनसँग सम्बन्ध बढाइरहे। उनका राम्रा कामका कदर गर्दै नराम्रा कुरालाई औंला त ठड्याउन पाइन्छ होला नि? हो पाएँ भन्दैमा  बेपत्तैसँग बोल्नु उनको बैगुन नै हो । यो कुरा उनका समर्थकहरु बरु कुस्ती खेल्न तयार हुन्छन्, मान्दैनन। बोलीले नै मान्छेलाई अन्धभक्त बनाइराख्नु पनि उनको खुबी हो, स्वीकार्नै पर्छ।   

एक अरब पर्ने पानीजहाज नेपालसँग हुनै नसक्ने कसैले भनेको छैन। हो भूपरिवेष्ठितनै भए पनि स्वीजरल्यान्ड र लग्जेम्बर्ग धेरै सम्वृद्ध छन, उनीहरुसँग पानीजहाज पनि छ। पानीजहाज स्वामित्व हुनलाई समुद्र जोडिएको कुनै एक देशको डक प्रयोग गर्नुपर्छ। यसका लागि वार्षिक महसुल त 'होस्ट कन्ट्री' लाई तिर्नै पर्योद। भारतले चाह्यो भने बिभिन्न बहानाबाजीमा  पारवहन सन्धिकै उपेक्षा गरेर नाका बन्द गर्न सक्छ भने कथित पानीजहाजबाट सामान अन्लोड गरी के समुद्रबाट चाँही सुरुङ खनेर डाइरेक्ट नेपाल आउने? पैसा तिर्योन भने पानी जहाज त आउला तर के समुद्र नै भारत छिचोलेर आउने त हैन होला?
 
देशमा एउटा रुटमा सिन्डिकेट तोडेर सर्वसुलभ जनयातायातको ब्यबस्था गर्ने हुति विकास गरेर मात्र अन्य यातायात रेल, पानीजहाज र रकेटको कुरा गर्दा हल्का पच्थ्यो कि? आँखा अगाडि जस्ता टहरामा जीवन गुजारिरहेका टुहुरा जनताका पिताले यस्ता हास्यास्पद उक्ति दिँदै हिंड्नु भन्दा तत्काल गर्नैपर्ने कामहरु गरिहाल्दा बरु हाइट अझ बढ्ला। खानीको अन्वेषण सुरु गर्दा वर्ष नै तोकेर पेट्रोलको ग्यारेन्टी लिने प्रधानमन्त्रीज्युलाई के थाहा, दुई वर्षमा अब कति वटा प्रधानमन्त्री फेरिने हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट