PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

Social Media Guideline



पहिलोपोस्ट डट कम तथा बिजमान्डु डट कमको
सोसल मिडिया, इन्टरनेट र इमेल प्रयोग सम्बन्धी आचारसंहिता

प्रस्तावनाः समाचारका लागि श्रोतको खोजी, सूचना संकलन र समाचार उपभोगको लागि सोसल मिडिया अनिवार्य बनेका छन्। त्यसैले चल्ती र चर्चामा रहेका फेसबुक, ट्विटर, गुगल प्लस, लिंक्डइन लगायत सोसल मिडिया प्लेटफर्ममा यस संस्थामा कार्यरत पत्रकारको उपस्थिति र सक्रियता अनिवार्य छ। इन्टरनेट र सोसल मिडियाको प्रयोगका क्रममा आउन सक्ने समस्या समाधान गर्न र प्रयोगलाई व्यवस्थित बनाउन यो आचारसंहिता निर्माण गरिएको छ।

क. इन्टरनेट र इमेल प्रयोगः
इन्टरनेटः कार्यसम्पादनका क्रममा आवश्यक अध्ययन, अनुसन्धानका लागि इन्टरनेटको प्रयोग गर्न पत्रकारलाई प्रेरित गरिनेछ। तर यौनजन्य सामग्री भएका वेबसाइट हेर्न निषेध गरिएको छ। 

मेलः श्रोतसँगको सम्पर्क, अफिसियल कुराकानी र पत्राचारका लागि अफिसियल इमेल आइडीको प्रयोग गर्न अभिप्रेरित गरिनेछ। तर अफिसियल इमेललाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन। आफ्नो व्यक्तिगत इमेललाई पनि पत्रकारले समाचार, सूचना संकलनका लागि प्रयोग गर्न सक्नेछन्।

ख. सोसल मिडियामा अकाउन्टः
पहिलोपोस्ट डट कम र बिजमान्डु डट कममा कार्यरत पत्रकारको सोसल मिडियामा उपस्थिति र सक्रियता अनिवार्य छ। सोसल मिडियामा अकाउन्ट बनाउँदा निम्न विषयमा ध्यान दिनुपर्छः
  • फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो पद खुलाएर ‘पहिलोपोस्ट डट कम  र बिजमान्डु डट कममा कार्यरत’ उल्लेख गर्ने।
  • ट्विटरमा संस्थाको ह्यान्डल र फेसबुकमा संस्थाको फेसबुक पेज अनिवार्य रुपमा लिंक गर्ने।
  • पत्रकारले सोसल मिडियामा निजी र व्यक्तिगत उपस्थिति देखाउन चाहेमा काम र व्यक्तिगत प्रयोजनका लागि छुट्टाछ्ट्टै सोसल मिडिया अकाउन्ट खोल्न सक्छन्। तर व्यवसायिक र व्यक्तिगत दुबै प्रयोजनका लागि एउटै सोसल मिडिया अकाउन्ट चलाउँदा पेशागत मर्यादा ख्याल गर्नुपर्नेछ।
ग. समाचारमा सोसल मिडियाको प्रयोग
  • सोसल मिडियाबाट प्राप्त समाचार/सूचनाको अनिवार्य रुपमा विश्वसनियता परीक्षण गर्ने। थप अनुसन्धानबाट प्रमाणित भएपछि मात्र सोसल मिडियामा आएका सूचनालाई प्रयोग गर्ने।
  • अन्यत्रबाट साभार गरिएको वा अनुवाद गरिएको समाचारको श्रोत अनिवार्य खुलाउने।  उक्त श्रोतलाई लिंकब्याक गर्ने।
  • अनलाइनमा पोस्ट गरिएको कुनै समाचारमा गल्ती भएको थाहा पाउनासाथ सच्याउने र पाठकले बुझ्ने गरी क्षमायाचना गर्ने।
  • समाचार कक्षमा थाहा भएका तर पूर्णरुपले वेबसाइटमा पोस्ट नभैसकेका समाचार सोसल मिडियामा पोस्ट नगर्ने।
घ. सोसल मिडियाबाट सामग्री तथा लिंक डिलिट
अनलाइनमा पोस्ट भएका समाचार सामग्रीका लिंक फेसबुक, ट्वीटर लगायतका सोसल मिडियामा सेयर गर्दा कुनै गल्ती भएमा त्यस्ता लिंक तथा सामग्री हटाउन सकिन्छ। सामग्री हटाउँदा निम्न कुरामा ध्यान दिनुपर्छः
  • सोसल मिडियामा पोस्ट गरिएका सामग्री तथा लिंक डिलिट गर्दा पाठकलाई सोही माध्यमबाट जानकारी दिने।
  • गल्ती भएको थाहा पाउनासाथ सच्याउने र पाठकले बुझ्ने गरी क्षमायाचना गर्ने।
ङ. ट्वीट, रिट्वि, स्टाटस अपडेट र लिंक सेयरिङः
पत्रकारले फेसबुक, ट्विटर, गुगल प्लस, लिंक्डइन लगायतका सोसल मिडियामा राजनीतिक दलका नेता/कार्यकर्ता, व्यवसायी लगायतका सम्भावित श्रोत र न्यूजमेकरलाई फलो गर्न तथा नेटवर्कमा जोड्न सक्छन्। कुनै पनि विषयमा ट्विट गर्न, रिट्विट गर्न, स्टाटस अपडेट गर्न तथा लिंक सेयर गर्न पत्रकार स्वतन्त्र छन्। तर सोसल मिडियामा यस्ता कार्य गर्दा निम्न कुरामा ध्यान दिनुपर्छः
  • कुनै राजनीतिक वा सामाजिक अभियानमा कमेन्ट गर्नु वा लाइक गर्नुपूर्व त्यसले आफ्नो सम्पादकीय नीति र कार्यरत संस्थाको प्रतिष्ठामा आँच नआओस् भन्नेमा सचेत रहने।
  • कुनै राजनीतिक दल, संस्था वा अभियानको समर्थन वा विरोधमा ट्विट नगर्ने।
  • सोसल मिडियामा लेख्दा पनि सत्यता, निष्पक्षता र सन्तुलन जस्ता पत्रकारिताका मान्यतालाई कायम राख्ने। 
च. ब्लगिङः
यस संस्थामा कार्यरत पत्रकारलाई ब्लग सञ्चालन गर्न, लेख्न र सोसल मिडियामा प्रवर्द्धन गर्न प्रेरित गरिनेछ। तर ब्लग लेख्दा निम्न कुराहरुमा ध्यान दिनुपर्छ।
  • संस्थाका औपचारिक बैठक, अन्तरक्रिया र छलफलमा उठेका विषयमा ब्लग नलेख्ने।
  • व्यक्तिगत ब्लगको संस्थासँग कुनै सम्बन्ध छैन भन्ने कुरा ब्लगमा प्रष्ट खुलाउने।
  • लेखकलाई पहिलोपोस्ट डट कम र बिजमान्डु डट कमको कर्मचारीका रुपमा नचिनाइएका वा संलग्नता उल्लेख नगरिएका ब्लग, माइक्रोब्लग तथा अन्य निजी र व्यक्तिगत वेबसाइट यो आचारसंहिताको दायराबाट बाहिर हुनेछन्।
. अनलाइनमा के लेख्ने के नलेख्ने?
  • आन्तरिक छलफल, बैठक, विवाद र निर्णयहरु पोस्ट नगर्ने।
  • संस्थाको सम्मानमा ठेस पुग्ने वा बदनामी हुने कुनै पनि काम नगर्ने। 
  • ध्यान दिनुस्, तपाईँका ट्विट, स्टाटस अपडेट तथा अन्य वेबसाइट तथा ब्लगमा गरिएका कमेन्ट सार्वजनिक हुन्। तपाईँले इन्टरनेटमा लेखेका जुनसुकै विषयपनि सर्च इन्जिनले इन्डेक्स गर्छन्। तपाईँले डिलिट गरेपनि यस्ता सामग्री इन्टरनेटमा सधैँभर रहिरहन्छन्।  
  • पहिलोपोस्ट डट कम  र बिजमान्डु डट कमबारे सोसल मिडियामा गरिएका आलोचना र नकारात्मक/सकारात्मक प्रतिक्रियाबारे जतिसक्दो चाँडो सम्पादकलाई जानकारी गराउने। सम्पादकसँग सल्लाह नगरी आलोचना र प्रतिक्रियाको जवाफ नदिने। कसैलाई दिइने जवाफलाई आधिकारिक बनाउनु पत्रकारको कर्तव्य हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell