PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


म विदेश जान्न 


कञ्चन राज गिरी/पहिलोपोस्ट

म विदेश जान्न 
केही वर्ष पहिले अमेरिका जाने खुबै हुटहुटी थियो ममा । नेपालमै बस्यो भने जीवन सकिन्छ कि भनेझैं लाग्थ्यो। तर, बिगत पाँच वर्ष यता जीवनमा धेरै ठूलो परिवर्तन आएको छ। नेपालीका लागि डिभी, पिआर, ग्रीनकार्ड, विदेश जस्ता शब्द ‘पेटवर्ड’ जस्तै भएको छ। 

म चाही यी शब्ददेखि दिनहुँ ‘एलर्जीक’ हुँदै गएको छु। विदेशमा बस्ने कल्पना पनि गर्न सक्दिँन। यही निर्णयमा पुगेको छु – म विदेश जान्न। तर, विदेशमा नटेक्ने भन्ने मेरो प्रतिज्ञा भने होइन। विदेशमा बस्ने, विदेशीको लागि काम गर्ने वा त्यही जीवन बिताउने कुरामा मेरो रूची छैन भन्ने मात्र मेरो आशय हो।

अहिले ३१ वर्षको भएँ। नेपालीको औषत आयुको आधा उमेर टेक्न लागेँ। जीवनको उर्जाशील, उत्पादनशील दशकमा दौडिरहेको छु। म यस्तो उर्जाशील उमेर विदेशमा बिताएर ‘रिटायर्ड लाइफ’ नेपाल फर्कने पक्षमा म छैन। पिआर, ग्रीनकार्ड बोकेर स्थायी विदेश बस्ने कल्पना कहिले गरिन। बितेका दशक देशको अस्थिर राजनीति र संक्रमणकालको छायामा जीवन जगतका कुरा सिक्दै, बुझ्दै र अनुभव बटुल्दै बित्यो। अबको दशक आफ्ना सिपलार्इ व्यवहारिक उपयोग गर्न चाहान्छु।

संसारका सम्पन्न केही मुलुकमा पुगेँ। त्यहाँको विकास देखेँ, पद्दत्ति बुझेँ र सिकेँ पनि। ती देशबाट हामीले सिक्नुपर्ने कुराहरु धेरै छन्। तर, लङ्काको सुनलाई कसरी आफ्नो मान्न सकिन्छ र? मलाई त मेरै हिमाल, पहाड र तराई प्यारो छ। यहीका गाउँवस्तीमा पुग्ने उत्कण्ठा छ।  यहीको कला, संस्कृति, रहनसहनमा समाहित हुने मन छ। बस! यी पाखा पहरा, गोरेटा, गल्ली र फाँटमा विकास पनि घोलिदिन पाए कति निखार आउथ्यो होला?
देश अतिविकसित हुनुको अभिषाप बेहोरिरहेका नै छौँ। गैरजिम्मेवार राजनैतिक नेतृत्वबाट हामी प्रताडित पनि छौँ।  रोग, भोक गरिबी र बेरोजगारीले कैयौँ नेपालीलाई विदेशिन बाध्य पारिरहेकै छ। 

‘अमेरिकामा ट्वाइलेट नै सोहोर्न तयार छु’ भन्ने मनोविज्ञान हाम्रो समाजमा झाँगिदै गैरहेको छ। तर, देशमा हामीलाई आफ्नै गोठको भकारो सोहोर्न पनि लाज लाग्छ।  डोकोनाम्लो, कुटोकोदालो, मेलापात नै गर्नु पर्‍यो भने हामो इज्जत नै जान्छ भनेझै गर्छौँ। १२ कक्षाको प्रमाणपत्र विदेश जाने वा डिभी भर्ने न्यूनतम योग्यता मात्र बनेको छ। समाजले एसएलसीको प्रमाणपत्र पाएपछि कृषि कर्म नै गर्न नहुने भन्ने खालको आडम्बर भिराइदिएको छ। उद्योग धन्दाको विकास भएको छैन। पूर्वाधारको विकास सुस्त छ।  र हामी निर्विकल्प विदेशिएका छौँ।

गाउँमा हामी कांग्रेस र कम्युनिष्टमा विभाजित छौँ।  केन्द्रीय नेतृत्वसँगै ‘डिनर पार्टी गर्छौँ’ तर दाजुभाइमा पानी बाराबार छ। कर्मचारी, शिक्षक, विद्यार्थी, मजदुर, किसान सबै राजनीतिक पार्टीको झन्डा बोकेर दौडन्छन्।  विपक्षीले जति नै राम्रो काम गरे पनि त्यसको सराहना गर्नसक्ने ठूलो चित्त हामीसँग छैन। कुनै उपलब्धी बिनाको चियापान तथा शुभकामना जस्ता कार्यक्रम गरेर हामी गौरवान्वित हुन्छौँ।  त्यस्ता कार्यक्रम ‘भब्य र सभ्य’ रुपमा आयोजना गर्ने भन्दै बैठक र समीक्षामा समय र पैसाको फजुल खर्च गर्छौँ।  विपक्षीको खुट्टा तान्नै पर्ने, पेल्नै पर्ने हाम्रो मानसिकता छ। समाजमा कुनै पनि कुराको सुरुवात नकारात्मकबाट हुन्छ। 

यहाँ विकास र सम्वृद्धिको कुरा हुन्न। लुट्ने र कमाउने हुन्छ सिक्ने र सिकाउने कुरा हुन्न। असल संस्कार र पद्धतिको कुरा हुन्न, दलाली र कमिसनको कुरा हुन्छ। ज्ञानविज्ञान र नैतिकताको कुरा हुन्न, पहुँच र भनसुनको कुरा हुन्छ। हामी 'सहीलाई सही र गलतलाई गलत' भन्ने साहस गर्न सक्दैनौँ। यहाँ 'आफू र आफ्नो' सही 'अरु र अर्का' गलत हुन्छ। हाम्रो साक्षरता मात्र बढेको छ, शिक्षामा बढोत्तरी भएको छैन। 

हामीलाई थाहा छ देशको राजनीतिक नेतृत्वले दिनुसम्म दु:ख दिएको छ। परनिर्भर बनाएको छ। रोग, भोक, गरिबी, बेरोजगारी, महङ्गी, भ्रस्टाचार र कालाबजारीको दलदलमा डुबाएर आसेपासेलाइ पोसेर समावेशीकरणको भद्दा मजाक उडाएको छ। लोकतन्त्रलाई लुटतन्त्र र गणतन्त्र जोकतन्त्र भएको छ। विदेशीसामु आफ्नै देशको चिरहरण गराएको छ। कहिल्यै पराधिन नभएको देशको इतिहासमा कालो पोतिएको छ। यो देशको दुर्दशा हामी टुलुटुलु हेरिरहेका छौँ। सामाजिक संजालका भित्ताहरुमा वर्षैभरी यस्तै राग अलाप्छौँ। तर, जब त्यही नेता आउँछ, कहिले १०० त कहिले ५०० किलोको माला बोकेर चाप्लुसी गर्न प्रतिस्पर्धा गर्छौँ। जब चुनाब आउँछ, 'गधी पे दिल आया तो परी क्या चिज हे' भने सरी आँखा चिम्लेर तिनै नेतालाई भोट हाल्छौँ।

यो सबै दुर्गतिको जिम्मेवार को हो?

यो सबैको जिम्मेवार कोही नभएर म हुँ। तपाई हामी हौँ। अझ कुनै आवश्यकता, बाध्यता बिना रहरैले विदेशिने हामी नेपाली गन्जागोल र भद्रगोलको सबैभन्दा ठूलो दोषी हौँ। अनैतिक, अयोग्य र असक्षमहरुलाई आफ्नो देशको बागडोर सुम्पेर हामी कुन संसार जित्न दौडेका छौँ? विद्यावारिधीसम्म गरेका हामी कहिल्यै पास नभएका, ढुङ्गामुढा र हड्ताल गरेर अरुलाई पढ्नसमेत नदिएर बनेका नेताहरुको कार्यकर्ता बनेर किन कुदेका छौँ? ज्वरो जाँच्न जाकार्ता जाने नेताबाट हामीले कस्तो विकास र सम्वृद्धिको अपेक्षा गरेका छौँ? कसैले देश बनाइदेला र बुढेसकालमा 'रिटायर्ड लाइफ' बिताउँला भन्ने कुन स्वप्ननिल संसारमा भुलेका छौँ? बेथितीको यो जडलाई उखेलेर फाल्न हामीले कुन साइत पर्खेर बसेका हौँ?

म विदेश जान्न 

म विदेश जान्न किनभने देशको यो दुर्दशा टुलुटुलु हेरेर बस्ने तागत मसँग छैन। म विदेश जान्न किनभने यो देशका समस्याहरुसँग जुधेर बाँच्न, योगदान गर्न, 'सहीलाई सही र गलतलाई गलत' भन्ने संस्कार, इमान्दारिता र नैतिकताको विकास गर्न, सकारात्मक सोचको बिजारोपण गर्न, श्रमको सम्मान हेर्न, सुसंस्कृत राजनीतिको सुरुवात भएको हेर्न चाहान्छु। लाखौँ मानिस भोक र रोगले मर्ने यो देशमा मेरो पनि त्यही नियति हुनसक्छ। जीविका चलाउँनै अनेक अड्चन आउँन सक्छन्। चुनौती मलाई स्वीकार्य छ। तर, एकपटक कोशिस गरेरै बाँच्ने हो। ‘छेरेर हैन हेरेरै’ मर्ने हो।

त्यसैले म विदेश जान्न ।

म त भन्छु कोही विदेश जानु हुन्न। विदेशका सम्पूर्ण नेपाली घर फर्कनुपर्छ विदेशमा सिकेका सिपको उपयोग गर्ने अवसर यही हो। सबै मिलेर दिनानुदिन विकृत बन्दै गैरहेको हाम्रो समाजलाई बदल्नुपर्दछ। न्याय, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापारलगायतका क्षेत्रमा सकारात्मक र निर्णायक धक्का दिनुपर्दछ। प्रत्येक किसिमका श्रमको सम्मान र उद्यमशीलताको प्रवर्द्धन गर्नुछ। सबैभन्दा महत्वपूर्ण कुरा देशमा सुसँस्कृत राजनीतिको सुरुवात गर्नुछ। अब बिकल्प कुर्दै बस्ने होइन, आफै पनि बिकल्प बन्न सक्नुर्छ। यो देश हाम्रो लागि अरु कसैले बदल्नेवाला छैन। यो देशलाई हामी आफैले बदल्नु पर्नेछ। परिवर्तन चाहाने सबैले जिम्मेवारीबोध, इमान्दारितालाई अङ्गाल्नु पर्दछ। प्रतिबद्ध हुनुपर्दछ। आआफ्नो गाउँटोलबाट ससानो सुरुवात गर्न सकिन्छ। बाटो असहज र अप्ठेरो छ तर, असम्भव भन्ने छैन। प्रतिबद्द नागरिकहरुको सानो समुहले नै संसार बदल्छ- यही यथार्थ हो। आजसम्म यसरी नै बदलिएको छ संसार।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट