PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

भर्खर जन्मिएकी छोरीको नाममा एक बाबुको खुलापत्र  


बिकिल/पहिलोपोस्ट

भर्खर जन्मिएकी छोरीको नाममा एक बाबुको खुलापत्र  
प्रिय छोरी,

तिमी सानी छौ। भर्खर हामीलाई चिन्न थालेकी छौ। तिमीलाई बोल्न अझै समय लाग्ला। पढ्न त झनै धेरै समय कुर्नु छ हामीलाई। अनि यो पत्र पढेर बुझुञ्जेल यी पत्रमा लेखिएका विषयहरु तिमी जस्तै कयौं सानी नानीहरुमा घटिसकेको हुनेछ। 

अल्ट्रासाउण्डको स्क्रिनमा तिम्रो धड्कन देखियो। रेडियोलोजिस्टले स्क्रिनमा देखाउँदै भन्नुभयो, ‘यी हेर्नोस्, बेबीको हार्ट बिट’। सँगैको पलङ्गमा पल्टिरहेकी तिम्री आमाको आँखा उतै स्क्रिनतिर तानियो। सँगसँगै मेरो ध्यान पनि। आँखासँगै मेरा हातले गोजीबाट मोबाइल झिक्दै एक दुई फोटो खिच्न भ्याएछ। ‘चार हप्ताको भएछ बच्चा’ रेडियोलोजिस्टले जानकारी गराउँदै हुनुहुन्थ्यो। हामी हलचल नगरी हाम्रो जीवनमा घटिरहेको अविस्मरणीय क्षण एकनाशले हेर्दै थियौं। सायद यो पल गर्भमा बच्चा बसेको हेर्न अल्ट्रा साउण्ड गराउने हरेक आमाबुबाले हामीले जस्तै टोलाएर हेर्दा हुन्। 
 
एउटा डर भरिएको खुशीयाली हामीमा देखिन्थ्यो। त्यो डर थपिन लागेको जिम्मेवारीका कारण थियो। श्रीमान् श्रीमतीको भूमिकामा छिट्टै आमाबुबाको भूमिका पनि थपिंदै थियो। मानसिक रुपमा तयार भएर क्लिनिकबाट बधाई खाँदै यो खुशी बाँड्न हामी घरतिर लाग्यौं। हामीसँगै मिठाईको बट्टा थियो। आमालाई मिठाई खुवाएर हजुरआमा हुन लाग्नुभएकोमा बधाई दियौं। बधाई ग्रहण गर्न अघि नै उहाँले भन्नुभयो, ‘तीन चार महिना नलागेसम्म यो कुरा चाहिं अरुलाई नभनौं है।’

 हामीले मान्यौं। हाम्रो खुशी लुकाउनु पर्ने त्यो कारण अझैसम्म पनि थाहा छैन तर सबैलाई भन्दै हिँड्ने आवश्यक पनि थिएन।

बच्चा गर्भमा भएको पाँच महिना लाग्न थाल्यो। आमाको भूँडी देखिन थाल्यो। बधाईको लर्को लाग्न थाल्यो। लुकाउने सम्भवै थिएन। चार महिनादेखि लुकाएको खुशी हामीले खुलेरै देखाउन थाल्यौं। आमाबुबा बन्न तयार भएका हामी भौतिक रुपमा पनि तयारीमा जुट्यौं। बच्चा पाउन भरपर्दो अस्पताल खोज्न थाल्यौं। र डाक्टरहरुसँग परामर्श लिन थाल्यौं। हरेक महिना जस्तो पेटभित्रको बच्चाको अवस्था बुझ्न हामी क्लिनिक धाउँथ्यौं। गर्भावस्थाको मध्यतिर एनोमोली टेष्ट लिन लगायो। यो टेष्टमा बच्चाको स्वरुप नै देखिने रहेछ। बच्चाको अनुहार, हात खुट्टा मेरै जस्तो लामा थिए। 

‘बाउ जस्तै देखिने, भाग्यमानी रहेछ बच्चा’ डाक्टरले टेष्ट लिँदै बोले। खुशी भन्दा धेरै मलाई अनौठो लाग्यो। बाउ जस्तो नदेखिएर आमा जस्तो देखिएको भए बच्चा भाग्यमानी हुन्थ्यो कि हुन्थेन? मनमा प्रश्न खेलाएँ तर केही बोलिनँ। ‘छोरा हो कि छोरी थाहा पाउने हैन त?,’ डाक्टरको प्रश्न आउने बित्तिकै हामी दुईटैले एकै स्वरमा भन्यौं, ‘अहँ, पर्दैन। सिक्रेट नै राखौं।’

छोरी,

यो समाजमा छोरा हुनुले धेरै अर्थ बोक्छ। समाजमा गडिएर बसेको छोरामान्छेको मोह सबैमा छ। ती डाक्टरले भनेको ‘भाग्यमानी बच्चा’को गहिराइमा पनि छोरा मान्छे लुकेको थियो। बाउ, बुबा, हजुरबुबा, छोराहरुले ढाकिएको समाजमा छौं हामी। तर छोराछोरीमा फरक नदेख्ने हामीलाई गर्भभित्रको बच्चा छोरा हो या छोरी हो भनेर बुझ्ने मन थिएन। तर यो समाज र हाम्रै छिमेकमा छोरा पाउन इच्छा व्यक्त गर्ने नातागोताहरु टन्नै भेटिन्छन्। केही हप्तापछि भेटेका एक बूढी नातेदारले भने, ‘घरमा नातिनीहरु मात्रै भए, तैंले चाहिं छोरा दिएस् है।’ नातिनीहरुले दिन नसक्ने के छ यो घरलाई जुन नातिले दिन सक्थ्यो। उत्तर प्रष्ट थियो। बाउको वंश थाम्न सक्ने ल्याकत बोकेका हुन्छन् छोरा मान्छेहरुले वा भनौं वंश थाम्न छोरा मान्छे नै चाहिन्छ भन्ने संस्कार बसाइयो। 

‘छोरा हो कि छोरी? भन्नु न।’

 आतुर समाजले आयोजना गरेका हरेक दहीचिउरा कार्यक्रममा सोधिने यो प्रश्नको उत्तर फर्काउँदै गयौं, ‘साँच्चै थाहा छैन क्या, अब पाउने बेला थाहा भइहाल्छ नि।’ नभन्दै तोकिएको समय भन्दा दुई हप्ता छिट्टै तिमीले यो समाजमा आउने हतारो गर्‍यौ। 

‘बधाई छ, छोरी पाउनु भो’ डाक्टरले ढोकाबाट चियाएर खबर सुनाउनुभयो अनि सोध्नुभयो, ‘बच्चालाई लुगा ल्याउनु भएको छ त?’ खुशीमा डुबेको मैले अरु परिवारजनलाई भोटो सुरुवाल, टोपी पञ्चा, डाएपर किन्न पठाएँ। मलाई विश्वास गर्नु छोरी किनेर ल्याइएका तिम्रा कपडाहरु दहीचिउरा कार्यक्रममा झुण्ड्याइएका बेलुनहरु जस्ता निला वा गुलाफी थिएनन्। न ती डाएपरको रंग निलो र गुलाफीसँग मिल्थ्यो। छोरा भए निलो, छोरी भए गुलाफी लगाइदिने चलन छ आजभोलि। यो समाजले रंगबाटै विभाजन गर्न चाहेको छोरा र छोरीलाई ढाकाको लुगाले स्वीकारिसकेको रहेनछ। तिमीले लगाएको पहिलो लुगा सेतो र प्याजी रंगको थियो।

 यो रंगभेदी कार्य हामीबाट हुन सक्दैनथ्यो। हामीले जानेरै तिमीले लगाउने लुगाहरुमा छोरी मान्छेका लागि छुट्याइदिएको गुलाफी रंग प्रयोग गरेनौं। तिमीले लगाउने थाङ्गनाहरु राता, सेता छन्। तिम्रो स्वीटर पँहेला, प्याजी छन्। तिमीलाई बेर्ने ब्ल्यांकेट छिर्केमिर्के रंगको छ। मान्छेले थम्याउन नसकेरै होला, ‘छोरा कि छोरी?’ भनेर सोध्थे। हामी ‘छोरी’ भनेर गर्वले चिनाउँथ्यौं। 

तिमीलाई चिनाउने सरकारी कागज बनाउन म वडा कार्यालय पुगें। नयाँ वडा अध्यक्ष, सदस्यहरुले भरिएको थियो पुरानो वडा भवन। मैले भर्नुपर्ने जति सबै जानकारी कागजको फारममा भरें। कर्मचारीले भर्नुपर्ने ती सबै जानकारी कम्प्युटरमा भरे। फारम भर्न सकेर मलाई सचिवको हस्ताक्षर लिनका लागि पठाउनुभयो। सचिव भेटिनँ। सहायक अधिकृतले फारम हेर्नुभयो। फारममा तिम्रो नामसँगै आमाको थर पनि जोडिएर लेखिएको देख्नुभयो। ‘यो त अलिक गाह्रो हुने भयो नि सर’, फारम मै पट्टि देखाएर भन्नुभयो, ‘यहाँ त आमाको थर पनि जोडिएको रहेछ नि।’

अचम्म मान्दै मैले सोधें, ‘किन? संविधानमा त व्यवस्था छ त।’

‘संविधानमा लेखिए पनि कार्यान्वयन कहाँ भएको छ र?’ उल्टै मलाई प्रश्न तेर्स्याइयो।

मेरा साथीहरुको बच्चाको जन्मदर्ता प्रमाणपत्र दुबैको थरसहित भएको जानकारी गराएँ। उहाँले उल्टो शंका गर्नुभयो, ‘पैसा खुवाएर गराए होलान्।’
मैले सहजै भनें, ‘यति राम्रो काम गर्नका लागि तपाईं पनि खानुस्।’

‘कहाँ घुस खान्छु त म,’ उहाँ पड्किनु भयो। मैले पनि छाति फुलाएर भनें, ‘म पनि कहाँ पैसा खुवाउँछु त।’

एकैछिनको मनमुटावपछि मैले सोधें, ‘यो काम हुन्न त?’

 उहाँले मलाई हेर्नु भयो अनि फारमलाई हेर्नुभयो र भन्नुभयो, ‘हुन त म महिला हुँ। मलाई पनि लाग्छ आमाको नामबाट प्रमाणपत्र निकाल्नु पर्छ। तर के गर्नु कानूनसम्मत चल्नै पर्छ।’ मलाई उहाँको खोक्रो सहानुभूति सुन्ने धैर्य थिएन।

‘तपाईंले कसलाई सोध्नुपर्ने हो सोध्नुस्,’ मैले रिसाएरै भनें, ‘जन्मदर्ता भोलि लिन आउँछु, भएन भने कानूनी रुपमा के–के गर्नुपर्ने हो म हेरौंला।’ 
भोलिपल्ट नेपाली कागजमा जन्मदर्ता तयार थियो। सचिवले हस्ताक्षर गरेपछि तिमी आधिकारिक रुपमा चेतना पन्त स्थापित भयौ।

छोरी चे, 

तिमी जन्मनु अघिबाटै सुरु भएको यी घटनाहरु तिमीले जन्मदर्ता पाउँदासम्ममा सकिँदैन। तिम्रो जन्मदिनबाट छोरी भएकै कारण थपिएका जटिलताहरु कयौं छन्। तिमीले बुझ्न नसकुञ्जेल हामी त्यसको सामना गरौंला। बुझ्ने भइसकेपछि तिमी आफैले देख्ने, भोग्ने छौ।

तिमी सानै छँदा हामीले भोग्न, सुन्न परेका यी विषयहरु तिमी ठूली भएपछि हट्ने कुरामा म विश्वस्त छैन। यो समाजले आफूलाई यति छिटो बदल्न सिकेको छैन। समय परिस्थिति बदल्ने छ। तर यो समाजमा गहिरो गरी जडिएको छोरा मान्छेले ढाकेको मानसिकता हट्न अझै समय लाग्नेछ। र म चाहन्छु यी मुद्दाहरुलाई लिएर तिमी ठूली भएर सबैमा चेतना फैलाउनु, तिम्रो नाम जस्तै।

तिमीलाई यो छोराप्रधान समाजमा स्वागत छ छोरी।

डटेर लड्न सकोस्, अग्रिम शुभकामना अनि धेरै माया,

तिम्रो बुबा,
बिकिल 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट