PahiloPost

Jul 17, 2019 | १ साउन २०७६


त्यो चार सेकेन्डको 'ब्ल्याङ्क मोमेन्ट' : साहस र त्राससँग सासको संघर्ष


स्वेच्छा राउत/पहिलोपोस्ट

त्यो चार सेकेन्डको 'ब्ल्याङ्क मोमेन्ट' : साहस र त्राससँग सासको संघर्ष

शुक्रबार 

मेरा पैतालाहरुको आधा हिस्सा अडिएका थिए, फलामे पातामा। आधा आधारहीन ठाउँमा थिए। जिउको भार असन्तुलित रुपमा पछाडितिर जान खोजिरहेथ्यो, कुर्कुर्चाले टेकेतर्फ। धेरै कौतुहलता अनि उत्तिकै डर। मलाई आफ्नै खुट्टा हेर्न मन लाग्यो।

'तल नहेर्नु है। उ पर डाँडामा हेर्नु' - बन्जी मास्टर भोला श्रेष्ठले यस्तै केही भने। मैले सुनेँ पनि। 

उनको निर्देशन मान्न पनि मुन्टो निहुर्‍याउन मिलेन। आँखा जबर्जस्ती तलतिर तन्काएर आफ्नै खुट्टा हेर्न खोजेँ। मेरो पैतालाभन्दा मुनि देखेँ - झ्याम्म रुखहरु। बेतोडले उर्लिँदै बगिरहेको भोटेकोशी र त्यसकै बीचमा तेर्सिएका अजंगका ढुंगाहरु। 


म त साहस र त्रासको बीचमा उभिएको रहेछु। जुन हिम्मतका साथ म यहाँ पुगेको थिएँ, त्यो क्रमश: टुट्दै थियो। साहसलाई त्रासले जित्ने संकेतहरु मनमा उठिसकेका थिए। पैतालाहरुसँगै दिल र दिमाग पनि डिभाइड भए – प्ल्याटफर्म (फलामको चारुकुने पाता) भित्र र बाहिर। प्ल्याटफर्म बाहिर रहेको दिल, दिमाग र पैतालाले जिते म साहस लिएर खस्थेँ। अनि के लिएर फर्कन्थेँ, थाहा थिएन। प्ल्याटफर्म भित्रको दिल दिमाग र पैतालाले जिते म हार्थें। त्रास मसँगै फर्किन्थ्यो। 

मास्टर बोले -  'हात फैलाउनु है।' 

मैले त्यसै गरेँ।  

'लामो सास फेर्नु, ' उनले फेरि भने। 

उनलाई के थाहा, उनले भन्नुअघि नै मेरो बढेको धड्कनको गति सम्हाल्न पटक पटक लामो सास फेरिसकेको थिएँ। उनले भनेपछि फेरि एक

पटक लामो सास ताने र छाडिदिएँ। 

अचानक, म त्यहाँबाट फर्कन मन लाग्यो। तर, सबैकुरा यति छिटोछिटो भइरकेको थियो कि मसँग फर्किनका लागि सोच्ने समय टरिसकेको थियो। 

तलतिर झर्न निर्देशन दिँदै मास्टर भोला स्वर चर्को बनाउँदै कराए – थ्री… टू… वान… बन्जी। 

तर, मैले हाम फालिनँ। दिमागले पैतालालाई ठाउँ छोड् भन्नै सकेन। 

उल्टै मुखबाट निस्कियो - 'सरी'। 

'गो गो गो…' मास्टरले हौस्याउन छाडेनन्। उनको आवाजले आँड दियो। यस पटक मैले हाम फालें। एकाएक सन्नाटा छायो। करिब ४ सेकेन्ड होला, के भयो याद छैन। 

लचकदार डोरीले बाँधिएकी म, आफ्नै नियन्त्रमा थिइनँ। डोरीले जता लान्छ, त्यतै पुग्थेँ। केहीअघि कहाली लाग्ने उचाईबाट पर देखिएको भोटेकोशी मेरो नजिकै थियो। पुलबाट १८० मिटर तलको भोटेकोशीभन्दा २० मिटरजतिमात्र माथि थिएँ म। खोलामा पानीभन्दा धेरै ढुङ्गाहरु देखिए। अघि मैले डर भगाउन डाँडातिर हेर्दा तलबाट आइरहेको आवाज त्यही खोला र ढुङ्गाहरुबीचको टकराव थियो। 

माथिबाट हेर्दा लागेको थियो- डोरी हल्लिँदा हल्लिँदै चुडियो भने, खोलामा नझरुँ। ढुङ्गामा पनि नझरुँ। बरु ती रुखमा परुँ। तर, ती रुख त खोला किनारबाट निकै पर पो रहेछन्। 

माथिबाट लगातार सुसेलेको आवाज सुनियो। टाउको तलतिर र खुट्टा माथितर झुन्डिरहेको मलाई पिङको काम्रोमा झै बस्न संकेत थियो त्यो। हामफाल्नु अघि दिइएको 'गाइडलाइन्स' बिर्सिसकेछु। सुसेलेर सम्झाइयो। दुई खुट्टा बाँधेको हार्नेस क्लिपलाई फुस्काएँ। त्यसपछि मेरो टाउको माथि र खुट्टा तल भयो। मच्चिरहेको पिङमा छुजस्तो लाग्न थाल्यो।

अरु बेला हार्न डराउँदा, जुध्न डराउँदा वा बोल्न डराउँदा आफ्नाहरु सम्झन्थेँ। यहाँ मर्छु कि भन्ने डर थियो। त्यो अवस्थामा जिन्दगीसँग पहिल्यैदेखि जोडिएकाहरुलाई पनि बिर्सिएको थिएँ। पुलमा जानुअघि सिकाइएको गाइडलाइन्स कसरी याद होस्?

यस्तो द्विधामा त मान्छेले आफैलाई मात्र सम्झदो रहेछ। सास त चलेकै छ भन्नेमा मात्र ध्यान पुग्दो रहेछ। 

रीना र अनिल कराएको सुनेपछिमात्रै याद आयो हातमा बाँधेको गोप्रो क्यामरा। त्यही क्यमरातिर हेर्दै यति मात्रै बोलेँ- 'यहाँ मलाई एकदम धेरै डर लागेको छ।' 

*** 

गत मार्चमा विपश्यना ध्यानका लागि मुहान पोखरीस्‍थित नेपाल विपश्यना केन्द्रमा थिएँ। विपश्यना सिक्नुअघि पूरा ध्यान आफ्नो सासमा लगाउने अभ्यास भइरहेको थियो। आफ्नै सास फेराईको अवस्था अवलोकन गर्नु मेरालागि निकै कठिन भइरहेको थियो। दिइएको निर्देशन अनुसार मनमा कुनै पनि कुरा नल्याइ आफ्नो सासको हावामात्र महसुस गर्न खोजिरहेको थिएँ। तर, मन न पर्‍यो भड्किहाल्थ्यो। कहिले फेसबुकको नोटिफिकेसन आइकन आँखामा आउथ्यो, कहिले म:म र कोक खान मन लागेर हैरान हुन्थ्यो। 

धत्! म त यही मनको चन्चलतालाई केही कम पार्न पो आएको भन्ने सम्झन्थेँ। यही क्रममा एक्कासी साथी वर्षा बस्नेतको याद आयो। केही अघि उनले बन्जी जम्प गरेको भिडियो फेसबुकमा अपलोड गर्दा सोधेको थिएँ, 'बन्जी गर्दा कस्तो हुँदो रैछ?' 
'माइन्ड ब्ल्याङ्क हुन्छ,' उनको जवाफ।

कोहीसँग नबोली, एकचित्त भएर सासलाई मात्र जाच्न खोज्दा त मनमा कुरा खेल्छन्, दिमागमा याद आउँछन्। त्यस्तो उचाईंबाट हाम फाल्दा साँच्चै माइन्ड ब्ल्याङ्क हुन्छ होला त? आफ्नाहरु याद आउँदैनन् होला, रिस उठाउने, खुशी बनाउने, दु:खी बनाउनेहरु सम्झिइदैनन् होला? विपश्यना केन्द्रमा गएको दोस्रो दिन उब्जेको यही प्रश्नसँगै सोचिसकेको थिएँ- म पनि बन्जी जान्छु। त्यो 'ब्ल्याङ्क मोमेन्ट' अनुभव गर्न। 

*** 

'तँ आत्तिन्छेस्, सक्दिनस् नगर्,' मम्मीले पटकपटक भन्‍नुभयो। 

'डोरी छिन्ला है,' तीनपटक बन्जी गरिसकेका ऋषि सरले तर्साएको तर्स्याइ। बन्जी गर्ने मेरो उत्साहले त सबैलाई जितिसकेको थियो। थप उर्जा

दिन्थ्यो रीनाको जोशले। उनी हरेकपटक मलाई देख्दा दङ्ग पर्दै भन्थिन् - 'स्वेच्छा हामी कता जाने रे?' अनि हामी स्वर तानेर न्यूज रुममै कराउँथ्यौं- 'बन्जी।'

अघिल्लो दिन ल्यापटपमा बहिनीको बन्जी भिडियो धेरैचोटी दोहोर्‍याएर हेरेँ। आङ जिरिङ्ग पार्थ्यो। युट्युबमा बन्जी नगरी फर्कनेहरुलाई पनि हेरें।

'म त सकिहाल्छु नि' भनेर आफैलाई थुम्थुम्याएँ। 

तर, आफूलाई छोड्न निकै गाह्रो हुने रहेछ। 

जब बन्जी क्रुले मेरो कम्मर र खुट्टाहरुमा हार्नेस बाँध्न थाल्यो। तब लाग्यो- मैले अन्तिममा गर्नुपर्थ्‍यो। लाग्यो- ऋषि सरले भनेजस्तै डोरी मेरै पालोमा चुँडिए के हुन्छ? वा आत्तिएर बेहोस भएँ भने? 

यस्तै तर्कनाहरुले मलाई सतायो। आफैले जोड जोडले हल्लाउन खोजेको पुल थोरै यताउता हुँदा पनि झस्किन थालेँ। अघि गाइडले भनेको याद आयो 'नो फेयर, नो फन'। तर, त्यसरी डर लागिरहँदा मलाई थोरै पनि मजा आएको थिएन। क्यामेरा लिएर भिडियोका साथी अनुप नजिकै आउँदा बोल्न गाह्रो भयो। नडराएकोजस्तो देखिनँ हर कोसिस गरे। उनले 'कस्तो लागेको छ?' सोध्दा अक्मकाउँदै आफ्नो कुरा सक्काएँ। 

तयारी सकियो। बन्जी मास्टर भोला श्रेष्ठले मुस्कुराउँदै हात दिए, 'हाइ फाइभ' गर्न। यति आत्तिएछु कि सट्टामा आफ्नो हात दिइनँ। टाउको थोरै निहुँराएर उनको हातमा ढोगें। उनी फिस्स हाँसे। 

त्यसपछि प्ल्याटफर्ममा पुगेको हुँ। बन्जी सहज रहेनछ भन्ने बुझेको हुँ। नगरी फर्किने मनसाय पनि बनाएँ। धन्न त्यो दुस्साहसले हार्‍यो। साहसले जित्यो र त त्यो चार सेकेन्डको 'ब्ल्याङ्क मोमेन्ट' अनुभूति गरें। मैले आफ्नो सास बाहेक हर चिज बिर्सेको समय हो त्यो। 
ओहो! बन्जी त ध्यान पो रहेछ। 

बन्जी गरिसकेपछि डर गायब। कसैले मलाई बधाई भनोस्, मैले गरेको बन्जी कस्तो थियो भनिदियोस् जस्तो लाग्यो। सँगै गएका विष्णुकान्त दाइको अगाडि पुगेर उफ्रिएँ। बहिनीलाई फोन गरेँ। भनें,'मैले बन्जी गरें नि। डर लागेको थियो, आँखा चिम्लिएर गरें।' 

डराउँदा मान्छेले केही नदेख्ने हो या हेर्न नचाहने हो? आफ्नै अनुभूतीहरुले उब्जाएको प्रश्नको जवाफ म बन्जीका लागि सँगै आएका साथीहरुबाट सुन्न पर्खिरहेको थिएँ। 

 

शनिबार। 
शुक्रबार रातीदेखि लगातार पानी पर्‍यो। द लास्ट रिसोर्टबाट देखिने पहाडहरुलाई पनि हिउँ ढाकेछ। त्यतैतिरबाट आएको हावा होला सायद, निकै चिसो थियो। हिजो हरियो देखिएको भोटेकोशीको पानी निकै धमिलिएछ। लागेको थियो यस्तो मौसममा बन्जी नहोला।

पानी परिरहेकै थियो। केहीबेरपछि पुलमा मान्छे लाइन लाग्न थाले। बन्जी सुरु भयो। हामी रिजोर्टबाहिर घरको बरन्डामा बसेर हेर्दै थियौं। उनीहरुलाई हौसला दिन जोडजोडले चिच्याउँदै। 

कसैले टोपी लगाएर हाम फाल्यो, फर्कदा टोपी थिएन। कोही तेस्रोपटकको काउन्ट डाउनमा हाम फाल्यो, फर्कदा कपाल मिलाउँदै, क्यामेरालाई पोज दिंदै फर्कियो। कोही हाम फालेनन्। कसैलाई मास्टरले धकेल्न पर्‍यो। हाम्रो लागि सबै दृश्य रोचक थिए। 

लाग्यो- आफ्नै जम्पलाई यसरी नै हेर्न पाए? 

जम्प गर्नेहरुको बीचमा एकजोडी 'स्विङ'को तयारीसहित प्ल्याटफर्ममा देखिए। केही बेरमै उनीहरुले एकसाथ पुलबाट हाम फाले। करिव सात सेकेन्डको 'फ्री फल'पछि त्यो जोडी पुलबाट सय मिटर पर टाँगिएको डोरीमा पुगेर झुण्डिए। 

उनीहरु खस्दै गर्दा मेरो सास रोक्कियो। 

उनीहरु पिङमा जसरी मच्चिन थाल्दा म जोड जोडले चिच्याएँ। आफै बसेको कुर्सीमाथि चढेर उनीहरुलाई हेरें। ताली बजाएँ।

अरे, बन्जीमा तीन सेकेन्ड फ्री फलको अनुभूती त त्यति गज्जब बन्यो, यसमा के होला? सँगै बसेको रीनालाई हेरें र भने,'हामी पनि गरम्।' 

साथी हुनु भनेको साहस हुनु रहेछ। साहस हुनु भनेको भयसँग भिड्न तयार हुनु। हामी एकसाथ भिड्दै थियौं। हामीसँगै हाम्रो जोस बाँधिएको थियो, डर बाँधिएको थियो। एकसाथ हाम फाल्ने अभ्यास गर्दै गर्‍यौं। तलबाट एकनास खोलाको आवाज आइरहेको थियो। एउटा स्टोरी सम्झिएँ- 'मनमगन दीपक बज्राचार्य: ढिकी, जाँतो र पात पतिङ्गरमा पनि खोज्दैछन् संगीतको धुन'। त्यसमा रीना र मेरो कम्बाइन बाइलाइन थियो।

दुवैले प्ल्याटफर्मलाई चिनिसकेका थियौं, केही हुँदैन भन्ने थाहा पाइसकेका थियौं। बन्जी गरेका हामीलाई स्विङले अत्याउँदैन भन्ने थियो। तर डर चुलियो। उस्तैगरी जसरी बन्जीअघि चुलिएको थियो। योपटक सरी भनेर पछाडि हट्दा रीनालाई धोका हुनसक्थ्यो। म सतर्क थिएँ, मैले हाम फाल्नै पर्छ। 

मास्टरको आवाज सुनियो- थ्री … टू… वान… स्विङ। 

झरना, चट्टान, रुख, भोटेकोशी सबै नजिक देखिए। 

सबैभन्दा समिप रीना थिइन्। हामी जोडजोडले हाँस्यौं। एकअर्कालाई के भइरहेछ सोध्यौं। आफ्नाहरुलाई सम्झियौं। खोलाभन्दा २० मिटरमाथि

बीच भागमा दुईजना मात्र झुण्डिएर एकअर्कालाई सुन्नुले महसुस गरायो- हामी सधैं सँगै हुँदा पनि एकअर्कालाई समय नै दिएका रहेनछौं। 

स्विङले त्यो अवसर पनि जुराइदियो। भोटेकोशीको किनार हुँदै रिजोर्टतिर लाग्ने उकालो खुशीको गीत गाउँदै गाउँदै उक्लियौं। सुस्त सुस्त हिड्यौं। एकअर्कालाई सुन्यौं। 

बन्जीपछि उसले सुनाएको डर, खुशी, हिम्मतको कुराहरु मैले अनुभूत गरेकोभन्दा निकै फरक थिए। मेरो अनुभूतीको न्यारेसन उसकोसँग मिलेन। 
सँगै बाँधिएर गरेको स्विङमा पनि हामीले उस्तै अनुभव बटुलेनछौं। 

एउटै मान्छे पनि बन्जी र स्विङमा फरक डराउँदो रहेछ, फरक खुशी भेट्दो रहेछ। विपश्यना ध्यानमा एउटै कोर्स गर्दा हरेकले जसरी फरक फरक अनुभूति गरेको अनुभव सुनाएका हुन्छन्, यहाँ त्यस्तै पो भयो। 

हरेकपटक हाम फाल्नकै लागि बनाइएको फलामे प्ल्याटफर्म नौलो लाग्दो रहेछ। हरेकपटक ज्यानमा बाँधिने डोरसँगै त्रास कसिदो रहेछ, क्रुले दिने काउन्ट डाउनसँगै धड्कनको गति बढ्दो रहेछ।  भोटेकोशीभन्दा १६० मिटर माथि उभिदाँ मान्छेले आफूलाई औंधी माया गर्दो रहेछ। र, हरेक पटक हामफाल्दा उत्तिकै डर पनि। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट