काठमाडौँ : बेलायत भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्ने अग्रपंक्तिमा थियो त्यहाँको नेपाली समुदाय। त्यहाँका अनलाइनहरुले नेपालीहरुले बेलायतमा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको दावीसमेत गरे।
प्रदर्शनकारीहरुले भारतलाई पछि हट्न, नेपालको पारवहन अधिकारको सम्मान गर्न, नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न, अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइएको नाकाबन्दी अन्त्य गर्न प्लेकार्ड र ब्यानर देखाउँदै नारा लगाएका थिए। उनीहरुले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी अन्त्य गर्न भारतसँग कुरा उठाउनसमेत आग्रह गरेका थिए।
क्यामरुन र मोदीले बिहीबार जारी गरेको संयुक्त वक्तव्यमा नेपालको प्रसंग उल्लेख त छ, तर त्यहा नाकाबन्दीको नसमेत उल्लेख छैन। बरु भारतकै आँखाबाट बेलायतले नेपालको इस्यु बुझ्न खोजेको देखिन्छ। वक्तव्यमा भनिएको छ-
वक्तव्यमा दुई प्रधानमन्त्रीले नेपालमा दीगो र समावेशी रुपमा संवैधानिक सेटलमेन्टको महत्वमा जोड दिएका छन् जसले चासोका बाँकी विषय सम्बोधित गरोस् र राजनीतिक स्थिरता र आर्थिक वृद्धि प्रवर्ध्दन गरोस्।
यसको सीधा अर्थ नेपालमा अहिले अत्याधिक बहुमतले जारी भएको संविधान दीगो नभएको र समावेशी नभएको हुन आउँछ।
वक्तव्यको अर्को बुँदामा भूकम्पको चासो छ। भूकम्पपछिको पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले छिटोभन्दा छिटो काम थाल्ने आशा पनि दुई प्रधानमन्त्रीको वक्तव्यमा छ।
तर संयुक्त राष्ट्र संघले समेत चासो व्यक्त गर्दै चिन्ता जाहेर गरेको विषय भारतीय नाकाबन्दीका कारण इन्धन अभावले भूकम्प प्रभावितहरुमा राहत र औषधि पुर्याउन कठिन भइरहेको तथा चाँडै नै मानवीय संकट निम्तिन लागेको विषयमा वक्तव्यमा केही पनि उल्लेख छैन।
यसले प्रदर्शनकारीहरुले भने जस्तै बेलायतबाट नाकाबन्दीको विषयमा भारतसँग कुरा उठाउने विषय प्रभावहीन भएको देखिन्छ।
नेपालीको प्रदर्शनले भारत अचम्ममा
प्रदर्शनकारीले गरेको माग पूरा नभए पनि भारत नेपालीहरुको प्रदर्शनबाट गम्भीर भने पक्कै भएको छ। इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार भारतीय प्रतिनिधि मण्डल लन्डनका सडकहरुमा नेपाली प्रदर्शनकारीहरु देखेर अचम्ममा परेका थिए।भारतीय प्रधानमन्त्रीको कार्यालयले त्यहाँको भारतीय हाइ कमिसनलाई प्रदर्शनको स्तर र त्यसले बेलायती समाजमा पार्ने असर बारे प्रतिवेदन तयार पार्न भनेको छ।
बिहीबार मोदी १० डाउनिङ स्ट्रिटबाट बाहिर निस्कँदा नेपाली प्रदर्शनकारीहरुले नारा लगाएका थिए। मोदी र बेलायती प्रमले महात्मा गान्धीको शालिकमा पुष्पगुच्छा चढाउँदा प्रदर्शनकारीहरुले उनीहरुले सुन्ने गरी नै नारा लगाएका थिए।
भारतीय प्रतिनिधिमण्डलले गुजरात दङ्गा र सिख समुदायको प्रदर्शनबारे अनुमान गरे पनि नेपालीहरुले यसरी प्रदर्शन गर्लान् भन्ने अनुमान पनि नगरेको इन्डियन एक्सप्रेसले लेखेको छ।