PahiloPost

Nov 28, 2024 | १३ मंसिर २०८१

'भारतीय नाकाबन्दीको विरोध गर्दा फेसबुकको सेन्सर'



'भारतीय नाकाबन्दीको विरोध गर्दा फेसबुकको सेन्सर'

काठमाडौं : एक भारतीय पत्रकारले नेपालमाथि भारतले गरेको नाकाबन्दीको आलोचना गर्दै आफूले फेसबुकमा सेयर गरेको लेख फेसबुकले हटाएको आरोप लगाएका छन्।

भारतीय पत्रकार विशाल अरोराले नोभेम्बर २५ मा 'द डिप्लोम्याट' मा 'आरआइपी इन्डियाज् इन्फ्लुएन्स इन नेपाल' (नेपालमा भारतको प्रभावः श्रद्धाञ्जली) शीर्षकमा लेख लेखेका थिए। 'यो लेख नेपालमा खुब पढिएको थियो, सोसल मिडियामा तीन हजारभन्दा बढी सेयर भएको थियो', अरोराले पहिलोपोस्टसँग भने, 'पछि हेर्दा त फेसबुकमा जम्मा २६ सेयरमात्र छ, थाहा भयो मेरो फेसबुकबाट उक्त पोस्ट हटाइएको रहेछ। मैले मेरा साथीहरुलाई पनि सोधेँ, उनीहरुको वालबाट पनि हटाइएको रहेछ।'

उनले आफ्नो फेसबुकमा लेखेका छन्- मलाई पहिलोपटक सेन्सर गरियो। नेपालमाथि भारतले गरेको नाकाबन्दीका बारेमा भारत सरकारप्रति आलोचनात्मक उक्त लेख फेसबुकले हटाएको छ। यो मेरो टाइमलाइनबाट हराएको छ, मेरो प्रोफेसनल पेजबाट पनि हटाइएको छ अनि यो लेख सेयर गर्ने मेरा साथी र फलोअरहरुको वालबाट पनि हटाइएको छ। फेसबुक र यो घटना पछाडि रहेकाहरुको निर्लज्जता !

पहिलोपोस्टसँग कुरा गर्दै पत्रकार अरोराले भारतको नागरिक सरकार म्यानमारको सैन्य सरकारभन्दा असहिष्णु बनेको आरोप लगाए। 'केही दिनअघि मैले म्यानमारको सैन्य सरकारका बारेमा लेखेको थिएँ, त्यहाँको सैन्य सरकारबाट नकारात्मक प्रतिक्रिया थिएन, के म म्यानमारको सैनिक सरकारभन्दा भारतको नागरिक सरकार असहिष्णु बनेको निष्कर्षमा पुग्नुपर्ने हो?', उनले प्रश्न गरे।

किन हुन्छ यस्तो?

फेसबुकले प्रयोगकर्ताको वालबाट यसरी सामग्री हटाएको पहिलोपटक भने होइन। केही समयअघि भारतमा नास्तिकहरुको एक समूहले फेसबुकमा बनाएको ग्रुप 'एथेइस्ट ग्रुप' लाई फेसबुकले सेन्सर गरेको थियो। यसबारेमा भारतीयहरुले अनलाइनमा अभियान नै चलाएपछि फेसबुक पछि सरेको थियो।

यसो हुनाको पछाडि फेसबुकको आर्थिक स्वार्थ कारण रहेको पत्रकार अरोरा बताउँछन्। 'यो फेसबुककोमात्र कुरा होइन, यस्तो सेन्सरसिपका पछाडि आर्थिक स्वार्थ मुख्य कारण हो', उनले भने, 'फेसबुकको गल्ती के हो भने उसले आफ्नो आर्थिक स्वार्थका कारण सरकारहरुलाई सन्तुष्ट पार्छ। फेसबुक प्रयोगकर्तालाई यो जनविरोधी रहेछ भन्ने भावना पैदा हुन सक्छ।' 

अरोराले लेखमा भारतका प्रधानमन्त्री नेपाललाई माइक्रोम्यानेज नगर्ने आफ्नो प्रतिबद्धतामा नटिकेको उल्लेख गरेका छन्। भनेको मानिन्जेल हस्तक्षेप नगर्ने तर नमान्नेबित्तिकै हस्तक्षेप गर्ने भारतीय कदमले नेपाली नेताहरुलाई झस्काएको उनले उल्लेख गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell