- पहिलोपोस्ट-
शुक्रबार विज्ञप्ती जारी गर्दै अध्यक्ष उपेन्द्र यादवले शान्तिपूर्ण रुपमा जनसभा आयोजनाको तयारी भइरहेको अवस्थामा सरकारले नियोजित रुपमा एमाले कार्यकर्ता तथा विद्यार्थीहरुलाई प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गर्न लगाएको आरोप लगाएको हो।
उनले विज्ञप्तीमा भनेका छन् ‘शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने, सभा सम्मेलन गर्न पाउने नागरिकको अधिकारमाथि प्रहार गर्दै एमाले नेतृत्वको सरकारले भिजिलान्ते प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गराउनुले सरकारको गैर लोकतान्त्रिक, तानाशाही र गैरजिम्मेवार चरित्र उदाङ्गो भएको छ।’
संघीय समाजवादी फोरम, नेपाल लगायत ९ राजनीतिक दल आबद्ध संघीय गठबन्धनले शुक्रबार इटहरीमा गर्न लागेको आमसभाको मञ्च स्थानीय युवा र विद्यार्थीहरुले तोडफोड र आगजनी गरेका थिए।
इटहरी घटनाले सरकारले वार्ता मार्फत मुलुकलाई निकास दिनुको सट्टा थप संकट तर्फ धकेल्न लागिपरेको प्रष्ट भएको फोरम नेपालले आरोप लगाएको छ। ‘आन्दोलनकारीको सुझबुझ र संयमताले इटहरीमा कुनै अप्रिय घटना नभएपनि शान्तिपूर्ण सभा सम्मेलनमा अवरोध हुनुले सरकार आफैले सामाजिक सद्भाव बिगारेर सम्प्रदायिक दङ्गा भड्काउन खोजेको प्रष्ट हुन्छ’ विज्ञप्तीमा भनिएको छ।