- रमेश वाग्ले/पहिलोपोस्ट-
बैठकको सुरुवातमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका फरमुल्लाह मन्सुर बोल्न खोजेका थिए। लगत्तै मधेशकेन्द्रित दलहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरे।
त्यसपछि आफ्नो स्थानबाट उठेर नेमकिपाका सांसदहरुले नाराबाजी गरेका हुन्। नेमकिपाका प्रेम सुवाल र अनुराधा थापामगरले नाराबाजी गर्दै भारतीय राजदुतलाई फिर्ता पठाउन माग गरे।
देश टुक्राउन खोज्नेहरुलाई कारवाही गर, भारतीय राजदूतलाई फिर्ता गर, भारतीय हस्तक्षेप बन्द गर, नाकाबन्दी फिर्ता गर, पारवाहन अधिकार लागू गरजस्ता नारा उनीहरुले लगाए।
संसदमा आफ्नो स्थानबाटै नाराबाजी गरेपछि सभामुखले नेमकिपाका सांसदहरुको माइक केही बेर 'अन' राखेका थिए।
सामान्यतः संसदमा सभामुखले समय नदिएको समयमा माइक अन गरिँदैन। तर, भारतविरोधी र मधेसी मोर्चाको नाराबाजी जारी रहुन्जेल सभामुख ओनसरी घर्तिले मधेसी नेमकिपा पार्टीका दुई सांसद प्रेम सुवाल र अनुराधा थापा मगरलेको नाराबाजीको माइक भने 'अन' राखेकी हुन्।
तर उनले मधेसी मोर्चालाई भने माइक दिइनन्। आफूले बोल्न अन गरेको माइकबाट मात्र मोर्चाको नाराबाजीको अडियो आउन भएको थियो। मोर्चाले सरकारी हस्तक्षेप बन्द गर, आन्दोलनकारीका माग पुरा गर, हत्या हिंसा बन्द गर, मधेसमा मृत्यु भएकाहरुका छानबिनका लागि न्यायिक अयोग गठन गर, मधेस थरुहट प्रदेश कायम गर, मधेस स्वायत्त प्रदेश कायम गर भन्दै नाराबाजी गरेको थियो।
मधेशकेन्द्रित दलहरुले पनि सदन अवरुद्ध गर्ने आफ्नो घोषित नीति अनुसार सदनमा नाराबाजी गर्दै आएका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले गत १० गतेको बैठकमा मधेसी मोर्चाका नेता उपेन्द्र यादवलाई समय दिएपछि दलीय व्यवस्थाको खिल्ली उडाएको भन्दै सभामुखकै आलोचना गरेर बैठक अवरुद्ध पारेको थियो। आजको बैठकमा कांग्रेस सांसद फरमुल्लाह मन्सुरलाई समय दिएपछि मोर्चाले बैठक अवरुद्ध पार्दै पैँचो तिरेको हो।
दोहोरो नाराबाजी पछि संसद बैठक सभामुख ओनसरी घर्तीले मंसिर २० गते १ बजे सम्मका लागि स्थगित गरेकी छिन्।