PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

संसदभित्रै भएको भारतविरोधी नाराबाजीलाई किन माइक दिइन् सभामुखले?



संसदभित्रै भएको भारतविरोधी नाराबाजीलाई किन माइक दिइन् सभामुखले?
फाइल फोटो

  • रमेश वाग्ले/पहिलोपोस्ट-
काठमाडौँ  : मंगलबारको संसद् बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का दुई सांसद्ले भारतविरुद्ध नाराबाजी गरे। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद् अवरुद्ध पार्न वेल घेरिरहेका बेला नेमकिपाका सांसद्ले आफ्नै सिटमा उभिएर नाराबाजी गरे।
 
मधेसी मोर्चाले वेल घेरेर गरेको नाराबाजी सभामुखको माइकबाट नै ‘लिक’ भएको बाहेक कुनै अडियो सार्वजनिक हुन पाएन। तर, दुई जना सांसद्ले गरेको नाराबाजी संसद्का माइकबाट ‘आउट’ भयो। आखिर किन दिइन् त सभामुख ओनसरी घर्तीले भारत विरोधी नाराबाजीलाई माइक?
 
मंगलबारको बैठकअघि सभामुख घर्तीले सदा झैँ प्रमुख सात दल र अन्य केही दलका सचेतकहरुलाई डाकेर बैठक अघि बढाउनेबारे परामर्स गरिन्। तर त्यहाँ प्रमुख प्रतिपक्षलाई समय तोक्ने विषय बहेक अर्को विषयमा छलफल भएको थिएन।
 
संसद् सचिवालय स्रोतका अनुसार नेमकिपाका प्रेम सुवालले समय पाउने तर साना दलले सार्वजनिक सरोकारका विषयमा समेत बोल्न नपाउने भन्दै गुनासो गरेका थिए।
 
‘कि त प्रमुख प्रतिपक्षले समय पाउने कि त सत्तापक्षले पाउने, विकल्पमा आन्दोलनरत मधेसी मोर्चाले पाउने, हामीले चाहीँ कहिल्यै समय नै नपाउने?’ भन्दै उनले गुनासो गरेका थिए।
 
सरकारलाई समर्थन गरेर प्रतिपक्षको कुर्सीमा बसेको तथा राष्ट्रपति र सभामुखमा समेत भोट हालेको दलको गुनासोप्रति सभामुख घर्तिको सहानुभूति थियो। त्यही सहानुभूति मंगलबारको बैठकमा देखिएको सचिवालयका ती अधिकारीका भनाई छ।
 

मंगलबारको बैठकमा के भएको थियो ?

सदा झैँ सभामुख ओनसरी घर्तीले मंगलबार पनि सत्तापक्षका प्रमुख दलका प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र आन्दोलनरत दलका तर्फबाट संघीय समाजवादी फोरम, नेपालका प्रमुख सचेतक डा. शिवजी यादवलाई डाकेर बैठक कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरेकी थिइन्।
 
त्यहाँ उनले प्रमुख प्रतिपक्ष र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चालाई बोल्नका लागि समय दिने भन्ने विषयमा परामर्श राखिन्। नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र संयुक्त लोकतान्त्रिक मोर्चाका तर्फबाट बैठकमा आएका समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले आफूले पहिले समय पाउनुपर्ने दावी गरे। दुबैको दावी कायम रहेपछि सभामुख घर्तिले सबैलाई समय दिने भन्दै बैठक सुरु गर्ने बताइन्।
 
अघिल्लो बैठकमा मोर्चालाई पहिले समय दिँदा प्रमुख प्रतिपक्षबाट व्यापक आलोचना खेपेकी उनले सुरुमा नेपाली कांग्रेसका सांसद फर्मूल्लाह मन्सुरलाई समय दिइन्। अघिल्लो बैठकमा पहिले समय पाएर पनि कांग्रेसले आपत्ति जनाएपछि संसदमा आफ्नो धारणा राख्न नपाएको मधेसी मोर्चाले ‘पैंचो’  तिरिहाल्यो, तत्काल वेल घेराउ गरेर।
 

'एमाले सांसदले पनि नारा लगाए'

मोर्चाका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहँदा नेमकिपाका दुई जना सांसद्ले पनि आफ्नो स्थानबाट उभिएर नारा लगाए। संयुक्त लोकतान्त्रिक मोर्चाका तर्फबाट बैठकमा सहभागी हुने डा. शिवजी यादवले त एमाले सांसद्ले समेत नेमकिपासँगै नारा लगाएको बताए।
 
’सरकारको नेतृत्व गरेको दल एमालेका केशव बडाल समेत बसेर नै उहाँहरुसँगै नाराबाजी गरिरहनुभएको थियो, खाली उठ्नुमात्र भएन’ यादवले भने, ‘मैले आउनुस ‘वेल’मा आएर नारा लगाउनुस् भनेँ। तर उहाँ आउनुभएन।’
 
सत्तापक्षले सत्तामा छु कि प्रतिपक्षमा छु भनेर होस गुमाएको र सभामुखले त्यसलाई मलजल गरिरहेको आरोप उनले लगाए। ‘सत्तापक्षमा भएको र प्रतिपक्षमा भएको होस गुमाएर बोल्ने उहाँहरुको परिचय नै हो’, डा. यादवले भने, ‘उहाँहरु जे गर्दै हुनुहुन्छ, त्यसको परिणाम भोलि आफै भोग्नुहुन्छ।’
 
उनले जनप्रतिनिधिले बोल्न पाउने तर, संसदीय अभ्यासमा जे भइरहेको छ, त्यसले संसदीय व्यवस्थाको मर्यादा कायम नगर्ने बताए।
  
‘मधेस आन्दोलनभन्दा गहिरो विषय अर्को के छ ?’ प्रश्न गर्दै यादवले भने, ‘त्यस्तो विषयको सम्बोधन नभएर घेराउ गरेका बेला संसदीय मर्यादा विपरीतका नाराबाजी गर्न र त्यसलाई सभामुखले सहयोग गर्न मिल्छ?’
 
उनले सत्तापक्षले त सरकारलाई भनेर आफ्ना विषय सम्बोधन गर्ने भन्दै प्रतिपक्षले मात्र संसदभित्र विरोध गर्न पाउने बताए। ’स्वभाविक रुपमा हो भने उहाँहरुलाई पर्याप्त बाटो छ, ढाँट्न छल्नलाई हो भने त के भन्न सकिन्छ र ?’ उनले भने।
 

'जिम्मेवारी सभामुखकै'

संविधानविद् डा. विपिन अधिकारीले संसद्को सम्पूर्ण नियन्त्रण सभामुखमा हुने भन्दै त्यहाँबाट गैरकानुनी वा अमर्यादित काम भए त्यसको जिम्मेवारी सभामुखकै हुने बताए।
 
‘सदनको सम्पूर्ण मर्यादा कायम गर्ने काम सभामुखको वा अध्यक्षता गर्ने व्यक्तिको हुन्छ’ डा. अधिकारीले भने, ‘जुन कुरामा सभामुखको अनुमति हुँदैन त्यो सत्तारुढ वा प्रतिपक्ष कसैलाई पनि बोल्ने अनुमति हुँदैन।'
 
त्यसबाहेक संसदीय अभ्यासमा कुनै पनि सार्वजनिक विषयमा सम्बोधन गर्दा जहिले पनि सभामुखलाई सम्बोधन गर्नुपर्ने भन्दै यस विपरीत जान संसदीय अभ्यास र व्यवस्थापिका संसद कार्यसंचालन नियमावाली दुबै अनुसार नपाइने उनले बताए।
 
उनले संसदभित्र भएका कानुनी वा गैरकानुनी कुनै पनि विषयलाई रेकर्डमा राख्ने नराख्ने र सार्वजनिक गर्ने नगर्ने भन्ने विषय पनि सभामुखकै हातमा हुने बताए।
 
‘आपत्तिजनक वा गैर कानुनी भयो वा सभामुखको निर्देशन बमोजिम भएको छैन भने त्यसलाई अफ द रेकर्ड गर्ने काम सभामुखको नै हुन्छ’उनले भने।
 
संसदभित्रको गतिविधि सभामुखको नियन्त्रणमा रहने भन्दै नियन्त्रण कायम नभए सभामुखको कमजोरी हुने उनले बताए। ‘क्लासरुममा भएका एक्टिभिटिजहरु त टिचरले नियन्त्रण गर्न सक्नुपर्‍यो वा प्रयास गर्नुपर्‍यो,’ उनले भने, ‘गरेन भने त उसको अनुमति मै भएको हो भन्ने हुन्छ नि।’
 

सभामुखले जिम्मेवारी वहन गरेनन् : आचार्य

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद महेश आचार्यले सभामुखले जिम्मेवारी बहन नगरेको र नियतवश नाराबाजी सार्वजनिक गरेको हुनसक्ने आरोप लगाए।
 
‘सभामुखको अनुमति बिना त कसैलाई पनि माइक दिइँदैन’ आचार्यले भने, ‘त्यसरी लगाएको नाराबाजीलाई माइक दिनुले नै प्रश्न उठाएको छ।’
 
उनले सत्तापक्षका सांसद्ले त्यसरी बोल्न नमिल्ने भन्दै सभामुखले सच्याउने प्रयास समेत नगरेको बताए। ‘सभामुखले त्यसलाई असंसदीय विषय भएकाले रोक्न वा अन्त्यमा रेकर्डबाट हटाउन आदेश पनि दिन सक्नुहुन्थ्यो’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell