PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्देशक आलोक नेम्वाङ आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिए



निर्देशक आलोक नेम्वाङ आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिए

काठमाडौँ : नेपाली म्यूजिक भिडियो र चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङ धापासीको ग्रान्डी भिल्ला रेसिडेन्सस्थित आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका छन्। 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब निरीक्षक उमेश यादवका अनुसार नेम्बाङको शव अपार्टमेन्टको भर्‍याङको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेको छ।  

राति साढे ८ बजे  खबर आएपछि प्रहरी घटनास्थल पुगेको यादवले बताए। प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी राखेको छ।  प्रारम्भिक घटना प्रकृतिले उनले आत्महत्या गरेको देखिएको छ। 

'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई', 'कसको आँखा लाग्यो' लगायत उनले दर्जनौं चर्चित म्युजिक भिडियो निर्देशन गरेका छन्। 

सानो संसार उनको चर्चित चलचित्र हो। सानो संसारपछि उनले दोस्रो फिल्म 'कोही मेरो'को पनि निर्देशन गरेका थिए। 

उनको नयाँ फिल्म अझै पनि फागुन १५ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि ग्राण्डी अस्पताल लाने तयारी हुँदैछ।

चलचित्र 'अझै पनि' आलोकले चार वर्षपछि निर्देशन गरेको चलचित्र हो। यसमा उनले अर्का निर्देशक सुदर्शन थापालाई खेलाएका थिए। 

उनी अविवाहित हुन्। म्युजिक भिडियो र चलचित्र निर्देशन गर्नुअघि उनी इमेज च्यानलमा भिजे समेत थिए।

लिम्बु संस्कृतिमा आधारित फिल्म नुमाफुङमा उनले अभिनय पनि गरेका छन्। 
 

'कोलाहल मन पर्दैन'

'शुक्रबार'को पछिल्लो अङ्कमा अन्तर्वार्ता दिएका नेम्वाङले आफूलाई टाइम दिन नसकेकोले निस्सासिए जस्तो लागे नयाँ घर सरेको बताएका थिए।

उनले भनेका थिए,  'धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।'

मान्छेका बारेमा उनले अन्तर्वार्तामा भनेका थिए, "मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। 'यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन' भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सँधैँ।" 

आलोकले निर्देशन गरेका केही चर्चित म्युजिक भिडियो हेर्नुस्
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell