PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आलोकको सुसाइड नोट- 'रोइरोइ बाँच्नुभन्दा हाँसीहाँसी मर्नु वेश'



आलोकको सुसाइड नोट- 'रोइरोइ बाँच्नुभन्दा हाँसीहाँसी मर्नु वेश'

काठमाडौं : बिहीबार राति झुन्डिएको अवस्थामा मृत भेटिएका म्युजिक भिडियो तथा फिल्म निर्देशक आलोक नेम्वाङको निवासबाट प्रहरीले सुसाइड नोटसहित केही डायरीहरु फेला पारेको छ।

बिहीबार बेलुका मृत भेटिएका नेम्वाङको निवासबाट प्रहरीले भेटाएका डायरीमा जीवनदेखि निराशा व्यक्त गरिएका भाव पाइएको प्रहरी स्रोतले बतायो।

प्रहरी स्रोतका अनुसार सुसाइड नोटको एउटा अंशमा 'रोइरोइ बाँच्नुभन्दा हाँसीहाँसी मर्नु वेश' लेखिएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भेट्टाएका कागजात तथा डायरीहरु अपराध महाशाखा लगिएको छ। 

'शवको प्रकृति, भेटिएका कागजातले आत्महत्या नै भएको देखिन्छ', अनुसन्धानमा संलग्न स्रोत बताउँछ। प्रहरीको अनुसन्धान अहिले कसैले हत्या गरेको हो कि होइन भन्नेमा केन्द्रित छ। आत्महत्या ठहर भयो भने प्रहरीले अनुसन्धान फाइल बन्द गर्नेछ। 'संभव सबै कोणबाट हामी अनुसन्धान गर्दैछौँ'', स्रोत बताउँछ। 

उनले पछिल्लो पटक शुक्रबार साप्ताहिकमा दिएको अन्तर्वार्तामा पनि निराशाजनक भाव व्यक्त गरेका थिए।  उनले भनेका थिए, 'मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सँधैँ।' 

नेपाली म्युजिक भिडियो र चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङ धापासीको ग्रान्डी भिल्ला रेसिडेन्सस्थित आफ्नै अपार्टमेन्टमा बिहीवार बेलुका मृत अवस्थामा भेटिएका थिए।

'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई', 'कसको आँखा लाग्यो' लगायत उनले सयौँ चर्चित म्युजिक भिडियो निर्देशन गरेका छन्। 

उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो। उनको शुक्रवार नै अन्त्यष्टी गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell