अंगद ढकाल -
तिमी चिरनिन्द्रामा रहेका बेला तिमी र तिम्रा परिवारजन, आफन्त र शुभेच्छुकतिर क्यामेरा तेर्स्याएर फोटो खिच्न मलाई सजिलो भएन। पेशाले फोटो पत्रकार भएपनि म भित्र पनि भावनाहरु छन्। हरेक आम मान्छेको जस्तै पीडा, हाँसो र आँसु मेरो पनि दैनिकी हो। मलाई लाग्छ, म जस्तै अन्य फोटोपत्रकारलाई पनि त्यो क्षण निकै असजिलो थियो।
शोकमा डुबेका आफन्तजनलाई समवेदना दिनुको साटो तिम्रो सम्झनामा बगाइएका अश्रुधाराको फोटो खिच्नु मेरो लागि सजिलो भएन। मन त थियो, क्यामेरा बन्द गरुँ र शोकमा डुबेका तिम्रा प्रियजनसँगै रोइदिउँ तर पेशागत कर्तव्य र मर्यादाले मलाई त्यसो गर्न दिएन। पेशागत जिम्मेवारीले मलाई झक्झक्याइरह्यो। र, त्यो शोकाकुल वातावरणमा पनि मेरो औँला सटर रिलिज बटनमा सक्रिय भइरह्यो।
मेरो आँखा तिम्रो मुहार र शोकाकुल मान्छेहरुमा केन्द्रित थियो । तर ध्यान थियो, क्यामेराको फ्रेममा। मान्छेहरु रोइरहेका थिए। म फोटो खिच्नमै व्यस्त थिएँ। तिम्रा प्रियजनहरुले फोटो नखिच्न आग्रह गर्दा पनि मैले क्यामेराको सटर बन्द गर्न सकिन। मलाई माफ गर आलोक !
म पनि तिमीले निर्देशन गरेका म्युजिक भिडियो हेरेर हुर्केको मान्छे हुँ। जब तिमीले संसार छोडेको खबर पाएँ, सुरुमा त पत्यार लागेन। तर त्यो बास्तबिकता थियो। सुरुमा खबर नपत्याएका धेरै मान्छेहरुजस्तै म पनि सत्य स्विकार्न बाध्य भएँ।
मलाई थाहा छैन तिमी कस्तो अवस्थाबाट गुज्रिएका थियौ र एकपटक प्राप्त हुने अमूल्य जीवन त्याग्ने निष्कर्षमा पुग्यौ। र, नगर्नुपर्ने काम गर्यौ। जब तिमीलाई चिरनिन्द्रामा देखेँ, लाग्दैनथ्यो कि तिमी साँच्चिकै संसारबाट बिदा भयौ। तिमी त निदाएका जस्तामात्र देखिन्थ्यौ।
लाग्थ्यो, तिमी उठ्ने छौ। तिमीले धेरैका आँसु झारेर बिदा भयौ। र, म तिनै शोकाकुल मुहार, उनीहरुका आँखाबाट बगेका आँसुलाई क्यामेरामा कैद गरिरहेको थिएँ। मलाई माफ गर आलोक।
तिमीले नेपाली म्युजिक भिडियो निर्देशनको क्षेत्रमा ऐतिहासिक काम गर्यौ। ट्रेन्ड सेट गर्यौ। तिमीले नयाँ पुस्तालाई आफ्नो उत्कृष्ट रचनामात्र देखाएनौ, उनीहरुलाई काम पनि सिकायौ। उनीहरुलाई म्युजिक भिडियोमा पनि राम्रो स्कोप छ भनेर बाटो देखायौ। मलाई लाग्छ उत्कृष्ट म्युजिक भिडियो बनाइरहेका धेरै समकालिन निर्देशक/कलाकार तिम्रो निर्देशकीय गुणबाट प्रभावित छन्।
म्युजिक भिडियोमा मात्र होइन, तिमीले फिल्मी क्षेत्रमा पनि नयाँ आयाम देखायौँ। मूलधारका चलचित्रको मान्यताबाट अलि बेग्लै खालको स्वाद तिमीले नेपाली दर्शकलाई दियौ। औरालो लागेको नेपाली फिल्मलाई नयाँ उर्जा र उत्साह भर्यौ। 'सानो संसार' जस्तो उत्कृष्ट फिल्म नेपाली दर्शकलाई देखायौ। त्यसैले नेपाली म्युजिक भिडियोमा मात्र होइन, फिल्ममा समेत तिमी 'पायोनियर' निर्देशकको रुपमा स्थापित थियौ।
जीवनबारे हामीले भन्दै/सुन्दै आएको कुरा के हो भने आलोक- जिन्दगी संघर्ष हो। तिमीलाई थाहै छ, गायक रामेश र रायनले जिन्दगीबारे गाएका छन्- संघर्ष हो जीवन, जीवन संघर्ष हो। जीवनदेखि भागेर बाँच्छु नभन.....। त्यसो त तिमीले पनि भन्यौ होला, गर्यौ होला। तर तिमीले अझै धेरै गर्न बाँकी थियो कि ! तिमीले भन्यौ रे, रोइरोइ बाँच्नुभन्दा हाँसीहाँसी मर्नु वेश। तर तिमीले बिर्स्यौ, हरेक अँध्यारो पछि उज्यालो आउँछ।
मलाई लाग्छ तिमीले उत्कृष्ट रचनात्मक कला नेपाली दर्शकलाई दिनै बाँकी थियो। हामीले तिम्रो कला हेर्नै बाँकी थियो। विडम्बना, त्यो पुरा हुन सकेन।
अन्त्यमा आलोक, तिम्रा सिर्जनाहरु नेपालीका माझ जीवन्त रहिरहनेछन्। तिमी सदासर्वदा नेपालीको मुटुमा रहनेछौ। एउटै गुनासो छ, तिमीले यो हतारो किन गर्यौ? तिमी एउटा व्यक्तिमात्र थिएनौ, धेरैका लागि चासोका पात्र थियौ। सायद यही कारणले होला हामी फोटो पत्रकार शोकमा समेत आफ्नो क्यामेरा बोकेर शोकाकुल वातावरणमा कुदिरह्यौँ। तिमीले रुवाएर छोडेका तिम्रा प्रियजनका तस्बिर खिचिरह्यौँ।
म तिम्रा परिवारजन, आफन्त, साथीभाई, शुभचिन्तक र प्रियजनसँग माफी माग्न चाहन्छु। कृपया हामीलाई माफ गरिदिनुस्। र, तिमी पनि आलोक, मलाई माफ गर।
हार्दिक श्रद्धाञ्जली। समवेदना।