काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) को आजदेखि सुरु भएको साधारणसभा असन्तुष्ट पक्षको विवादपछि स्थगन भएको छ।
दुई पक्षको विवादबीच आज सुरु भएको क्यानको साधारणसभामा असन्तुष्ट पक्षले भौतिक हस्तक्षेप गरेपछि स्थगन भएको क्यानले जनाएको छ। साधारणसभामा उपाध्यक्ष चतुरबहादुर चन्दले बोलिरहँदा साधारणसभाका विपक्षमा रहेका क्यान अध्यक्ष टङ्क आङ्बुहाङ र उपाध्यक्षलगायत पदाधिकारीले हस्तक्षेप गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीसमेत परिचालन गर्नुपरेको थियो।
“उपाध्यक्ष चन्दले बोलिरहँदा अर्का उपाध्यक्ष केशव घिमिरे र सुनिलमान अमात्य तथा सङ्घका पदाधिकारीले रोस्ट्रममा पुगी अवरोध गरेका थिए। त्यसपछि दुई पक्षबीच विवाद सुरु भयो। विवादका कारण होहल्ला हुँदा साधारणसभा अघि बढ्न सकेको छैन” – महासचिव अशोकनाथ प्याकुरेलले भने।
के हो विवाद ?
अध्यक्ष आङ्बुहाङ पक्षले साधारणसभा विधानसम्मत नभएको भन्दै त्यसलाई रोक्न माग गर्दै आएको छ भने उपाध्यक्ष चन्द पक्षले साधारणसभा गर्नुपर्ने अडान राख्दै आएको छ। चन्द पक्षले मंसिर २८ र २९ गते काठमाडौँको कमलादीस्थित राजघराना होटलमा साधारण सभा गर्ने तय गरेको थियो।राष्ट्रिय खेलकुद परिषदले पनि आजदेखि सुरु हुने साधारणसभा रोक्न क्यानलाई पत्र पठाएको थियो। राखेपले नियमानुसार साधारणसभामा निर्वाचन प्रतिनिधि पठाउनुपर्नेमा कुनै प्रतिनिधि पठाएको छैन। उपाध्यक्ष चन्द, महासचिव प्याकुरेल पक्ष विवादकैबीच पनि साधारणसभा प्रक्रिया अघि बढाउने तयारीमा थिए।
यसअघि आइतबार महासचिव प्याकुरेलले सोमबार बिहान ११ बजे साधारणसभाको उद्घाटन हुने जानकारी गराएका थिए भने अध्यक्ष आङ्बुहाङले अर्को विज्ञप्ति जारी गर्दै आफ्नो स्वीकृतिबिना कार्यसमिति बैठकले निर्णय गरेको भन्दै साधारणसभा स्थगन गरेको बताएका थिए।
क्रिकेट ओरालो लाग्दै
लामो समयदेखि क्यान नेतृत्वमा विवाद रहँदै आएको छ। त्यसको प्रत्यक्ष मार खेलमा समेत परेको छ। परिणामस्वरुप नेपाल ट्वान्टी–२० विश्वकपमा समेत छनोट हुन सकेन। विश्वकप छनोटका छ खेलमध्ये नेपालले एउटा खेल मात्र जित्न सक्यो। नेपाल समूहकै पुछारमा रह्यो । समूह ‘ए’ मा नेपाल सहित नामिबिया, पपुवा न्युगिनी, आयरल्यान्ड, हङकङ, जर्सी र अमेरिका थिए।बिर्सनलायक हारपछि नेपालले भारतमा हुने ट्वन्टी–२० विश्वकपमा खेल्ने मौका समेत यसै वर्ष गुमायो भने नेपाली राष्ट्रिय क्रिकेट टोलीले गत वर्ष पाएको अन्तर्राष्ट्रिय टी ट्वान्टी मान्यता खोसिएको छ।
नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धिका रुपमा लिइएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता आयरल्यान्ड र स्कटल्यान्डमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन गरेपछि खोसिएको हो।
नेपालले अघिल्लो वर्ष बङ्गलादेशमा सम्पन्न विश्व कप ट्वन्टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता दिएको थियो । आइसिसीले ट्वन्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुने टोलीलाई मात्रै ट्वन्टी–२० अन्तर्राष्ट्रियको मान्यता दिने भन्दै नेपाललाई सो सूचीबाट समेत हटाएको थियो । रासस