PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार, तीन पत्रकार प्रहरी नियन्त्रणमा



महेन्द्रनगर : विगत पाँच महिनादेखि मधेसी मोर्चाद्वारा जारी मधेस आन्दोलन पछिल्लो दुई दिनदेखि पुनः उग्ररुप लिँदा जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार भएको छ। 

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरमा प्रहरीले गरेको लाठी चार्जपछि जनकपुरमा भइरहेको प्रदर्शनक्रममा सो घटना भएको ह । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित मधेसकेन्द्रित दल तथा सङ्घसङ्गठनले चौकीमा बम प्रहार गरेपछि प्रहरीले दर्जन राउन्ड सेल अश्रुग्यास प्रहार गरेको छ। त्यस्तै, जनकपुरका विभिन्न चोकमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा जितेन्द्र ठाकुर र जलेश्वरका मनिष गम्भीर घाइते भएका छन्। 

त्यसैगरी, मोर्चा र मधेस क्रान्ति सङ्घर्ष समितिले जनकपुर–ढल्केवर सडकखण्डको लक्ष्मीनियाँमा प्रदर्शन गर्दै एक दर्जन सवारीसाधनमा तोडफोड गरेका छन्। 

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले ज ४ प ७०८८, ज ४ प ६८४५, ज ५ प २८१३, ना ३२ प ८४३१ नम्बरसहित एक दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको प्रहरीले जनाएको छ । 

यसैबीच, प्रहरी र आन्दोलनकारीबीचको अवस्था असामान्य बन्दै गएपछि घटनास्थलमा पुगेका तीन सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अभिलाप दैनिकका रामहृदय यादव, अप्पन टिभीका राकेश मिश्र र रिकी साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। साथै पत्रकारहरूले क्यामरामा कैद गरेका फुटेज नष्ट गर्न लगाइएको छ। 

प्रदर्शनका कारण जनकपुर बजार, शिक्षण संस्था, कलकारखाना, उद्योग यातायात पूर्णरुपमा ठप्प छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell